काठमाडौँ, ५ असार । प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सरेका छन् । गत जेठ २३ गते प्रधानमन्त्रीमा निर्वाचित भएपछि पनि बूढानीलकण्ठस्थित आफ्नै निजी निवासमा बस्दै आउनुभएका उनी आज बिहान बालुवाटार सर्नुभएको पारिवारिक स्रोतले जनाएको छ ।
प्रधानमन्त्री देउवालाई सरकारी निवास सर्न ज्योतिषीले आज बिहान ५ः२२ बजेको उत्तम साइत जुराइ दिएपछि सोहीअनुसार नै उनी बिहानै पूजापाठ गरी सरेका हुन् । जेठ २४ गते प्रधानमन्त्री पदको शपथ पनि उनले ज्योतिषीले जुराइ दिएको साइतको समयमा नै लिएका थिए ।
बिहान सरकारी निवासमा प्रधानमन्त्री देउवालाई कर्मचारीले स्वागत गर्नुका साथै भवनको साँचो हस्तान्तरण गरेका थिए भने सो अवसरमा उनको सम्मानमा नेपाली सेनाले सलामी अर्पण गरेको थियो ।