रुकुम, ४ असार । गृहमन्त्री जनार्दन शर्माले राष्ट्रिय जनता पार्टीलाई आन्दोलन छाडेर सहमतिमा आउन आग्रह गरेका छन् । उनले जनताको मताधिकार सुनिश्चित गर्न निर्वाचन सार्नुपरेको जानकारी पनि दिए ।
आइतबार सदरमुकाम खलंगामा आयोजित पत्रकार भेटघाटमा मन्त्री शर्माले चुनावमा भाग लिन राजपालाई आग्रह गरेका हुन् । प्रेस सेन्टर रुकुमले गरेको कार्यक्रममा मन्त्री शर्माले शान्तिपूर्ण, भयरहित र धाँधलीरहित चुनाव हुने भन्दै ढुक्क भएर चुनावमा भाग लिन सबैलाई आग्रह गरे । गृहमन्त्री भएपछि शर्मा पहिलोपटक गृहजिल्ला रुकुम आएका हुन् ।