नेकपा माओवादी केन्द्र दाङले उम्मेदवारी दर्ताको दिन पारेर आइतवार जिल्लाका दशवटै स्थानीय तहमा चुनावी सभा गर्ने भएको छ । सभाहरुलाई केन्द्रीय नेताले सम्वोधन गर्ने जिल्ला निर्वाचन परिचालन समिति संयोजक निर्मल आचार्यले जानकारी दिनुभयो ।

जसअनुसार राप्ती गाउँपलिकाको भालुवाङमा हुने सभालाई केन्द्रीय कार्यालय सदस्य नारायण शर्मा पौडेल, केन्द्रीय सचिवालय सदस्य यसोदा सुवेदी, दामा शर्मा र केन्द्रीय सदस्य लुमबहादुर कार्की, गढवा गाउँपालिकाको गढवामा हुने सभालाई पोलिटब्यूरो सदस्यद्वय निर्मल आचार्य र नारायणी शर्मा, राजपुरको गंगदीमा हुने सभालाई निर्मल आचार्य र लीला शर्मा तथा लमहीमा हुने ¥यालीपछिको कोणसभालाई पोलिटब्यूरो सदस्य इन्द्रजीत चौधरीले सम्वोधन गर्ने कार्यक्रम छ ।

त्यस्तै घोराही उपमहानगरपालिकाको गुलरिया पार्कमा हुने सभालाई बरिष्ठ नेता कृष्णबहादुर महराले सम्वोधन गर्ने कार्यक्रम रहेको माओवादीले जनाएको छ । त्यस्तै तुलसीपुरका सभालाई पनि महराले नै सम्वोधन गर्ने कार्यक्रम तय गरिएको संयोजक आचार्यले जानकारी दिनुभयो । बंगलाचुलीको कमिरेचौरमा हुने सभालाई केन्द्रीय सदस्य सुवास पुनसहितले सम्वोधन गर्नुहुने भने दंगीशरणको हेकुली, शान्तिनगरको चिराघाट र बबइ हंशपुरमा हुने सभालाई केन्द्रीय सचिवालय सदस्य रेखा शर्मा र कुवेरबहादुर ओलीले सम्बोधन हुने कार्यक्रम तय गरिएको माओवादीले जनाएको छ ।

यसैबीच माओवादी केन्द्र घोराहीले गर्ने सभाअघि बालमन्दिरदेखि जुलुस शुरु गरी बजार परिक्रमा गरी गुलरियापार्कमा पुगेर सभा गर्ने कार्यक्रम तय गरिएको उपमहानगर अध्यक्ष विश्वराज आचार्यले जानकारी दिनुभयो ।