विर्तामोड, २४ जेठ । उपप्रधानमन्त्री एवम् राप्रपा नेपालका अध्यक्ष कमल थापाले जनताको अभिमतको आधारमा नेपाललाई हिन्दु राज्य बनाएरै छाड्ने बताएका छन् ।
सोमबार झापाको विर्तामोडमा आयोजित हिन्दुत्व जागरण जनसभालाई सम्बोधन गर्दै उनले भने, ‘नेपाली जनता हिन्दुत्व, राष्ट्रिय स्वाधिनता र प्रजातन्त्रप्रति प्रतिबद्ध छन् ।’
प्रजातान्त्रिक मूल्य र मान्यताबाट आफ्नो सिद्धान्त स्थापित गराइ छाड्ने थापाको भनाइ थियो ।
‘नयाँ संविधानले सनातन धर्मको रक्षा गर्नु राज्यको दायित्य भएको उल्लेख गरेको छ ।’ थापाले भने, ‘तर, देशका विभिन्न ठाउँमा संगठित रुपले धर्म परिवर्तन गराउने काम जारी छ ।’
डर र भ्रमण देखाएर धर्म परिवर्तन गराउने काम भइरहेको भन्दै उनले परम्परागत सनातम धर्ममाथि आक्रण भइरहेको बताए ।
अर्को प्रसङ्गमा उनले सरकारमा गएर आफ्नो सिद्धान्त र एजेण्डालाई नछाडेको भन्दै हिन्दु राष्ट्र कायम गर्न सदन, सडक र सत्ताबाट एकै साथ संघर्ष गरिरहेको दावी गरे ।
त्यस्तै, कार्यक्रमलाई सम्बोधन गर्दै राप्रपा, नेपालका महामन्त्री राजेन्द्र लिङ्देनले संविधान संशोधन गरेर नेपाललाई हिन्दु राष्ट्र बनाउन कसैले पनि नछेक्ने बताए ।
