हिरालाल चौधरी ‘बज्र’
अध्यक्षका उम्मेदवार नेकपा माओवादी केन्द्र दंगीशरण गाउँपालिका
दंगीशरण गाउँपालिकाको अध्यक्ष पदमा तपाईको उम्मेदवारी किन ?
दंगीशरण गाउँपालिकाको समग्र विकासका लागि मेरो उम्मेदवारी परेको हो । यस क्षेत्रमा अधिकांश आर्थिक अवस्था कमजोर भएका बासिन्दाहरु हुनुहुन्छ । यहाँको मुख्य पेशा भनेको कृषि नै हो । निर्वाहमुखी कृषिका कारण आम जनतालाई छाक टार्न नै मुस्किल परेको छ । अब हामीले वैज्ञानिक र प्रविधियुक्त कृषिको माध्यमबाट उत्पादन बढाएर जनताको आर्थिक अवस्था सुधार गर्नुपर्छ । यहाँ पानी प्रशस्त छ तर, बृहत योजना नहुँदा पानि त्यत्तिकै खेर गइरहेको छ । हामीले खोलानालाको संरक्षण गर्दै सिचाई योजना सञ्चालन गरेर खेतीयोग्य जमिन सिंचित गर्न सक्छौं । कृषिको माध्यमबाट यस क्षेत्रको विकास र यहाँका जनताको जीवनस्तर बढाउनको लागि मैले अध्यक्ष पदमा उम्मेदवारी दिएको हुँ । मलाई विश्वास छ– यहाँका आम जनसमुदायले मलाई अध्यक्षमा निर्वाचित गरेर सहयोग गर्नुहुनेछ ।
तपाई अध्यक्ष भइसकेपछि दंगीशरण गाउँपालिकामा के गर्नुहुन्छ ?
दंगीशरण गाउँपालिकामा सिचाइको सुविधा कम भएकाले म अध्यक्ष भइसकेपछि सबैभन्दा पहिले विभिन्न सिचाइ योजनाहरु सञ्चालन गर्नेछु । गाउँपालिकाका सबै वडालाई जोड्ने सडकहरुलाई विस्तार गर्दै कालोपत्रे गरिनेछ । दंगीशरण गाउँपालिकामा थारु संग्रहालय स्थापना गरेर आन्तरिक तथा बाह्य पर्यटक भित्र्याइनेछ ।
अहिले यहाँका जनता परम्परागत कृषि उत्पादन गरिरहेका छन् । यसले आम जनताको श्रम खेर गइरहेको छ तर, उत्पादन हुन सकेको छैन । अब विशेष योजना तयार गरेर परम्परागत कृषिको अन्त्य गर्दै कृषिमा आधुनिकरण गरिनेछ । दंगीशरण गाउँपालिकाको विकट साविक गोल्टाकुरीको १ नम्बर वडाको भलैखोलाबाट विद्युत उत्पादन गरिने छ । हाम्रो मुलुक कृषिप्रधान देश हो । तर, कृषि विषयको राम्रोसँग अध्यापन हुन सकिरहेको छैन । त्यसैले हामीले दंगीशरणमा कृषि प्राविधिक शिक्षालय स्थापना गर्नेछौं । यहाँका जनताका स्वास्थ्य उपचारका लागि १५ शैयाको अस्पताल बनाइनेछ ।
दंगीशरणलाई नमुना हरियाली गाउँपालिका बनाइनेछ । यहाँ राष्ट्रियस्तरको कृषि अनुसन्धान केन्द्र स्थापना गर्न पहल गरिने छ । किसानहरुको बीउको सुरक्षाका लागि अत्याधुनिक कोल्डस्टोरको व्यवस्था गरिनेछ । हामीले कृषि, सडक, खानेपानी, सिँचाइ, स्वास्थ्य, शिक्षालगायतका क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेर काम गर्नेछौं ।
दंगीशरणबासीले तपाईलाई नै विजयी गराउनुपर्ने कारण ?
जसको नीति उसको नेतृत्व भनेजस्तै स्थानीय तह माओवादीको नीतिअनुसार माओवादी नेतृत्वकै पहल र एजेण्डा हो । स्थानीय तहको व्यावहारिक कार्यान्वयनका लागि माओवादीले नै नेतृत्व गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो । माओवादीले कहिल्यै धोका दिदैन भनेर आम जनसमुदायले बुझिसकेका छन् ।
अर्को कुरा म राजनीतिका लागि घर परिवारको मोह त्यागेर हिडेको मान्छे । अहिले पनि यस क्षेत्रका जनताले मेरो मूल्यांकन राम्रोसँग गरिसकेका छन् । मैले जनताका कामहरु सहज र सरलरुपमा गर्नेछु । गाउँपालिकाको विकासका लागि मसँग स्पष्ट गुरुयोजना रहेको छ । योजना नभएका र कुनै दृष्टिकोण नबोकेका व्यक्तिले गाउँको विकास गर्न सक्दैनन् ।
प्रस्तुति :- पाण्डव शर्मा
