दिपक बोहरा

तुलसीपुर ३० जेठ । तुलसीपुरमा आधुनिक बसपार्क निर्माणको काम शुरु भएको छ । अधुनिक बसपार्क निर्माण गर्नका लागि सोमबार शिलन्यास गरिएको छ । यस्ले आधुनिक वसपार्क निर्माणको सपना देख्दै आएको स्थानीय सरकार,व्यवसायी र सर्वसाधारणको सपनाले अव सार्थकता पाउने निश्चित जस्तै भएको छ । वर्षाैंदेखि कुरुप वसपार्क नियाल्दै आएका तुलसीपुरवासीले भनेको गतिमा काम भएमा अबको १५ महिनापछि एउटा चिटिक्कै परेको वसपार्क पाउने छन् ।
तर प्रक्रिया शुरु गरेको ५ बर्ष पछि बल्ल तुलसीपुरमा आधुनिक बसपार्क निर्माणको काम शुरु भएको हो । साबिक तुलसीपुर नगरपालिकाले ५ बर्ष अघिदेखि बसपार्क निर्माणका लागि प्रक्रिया शुरु गरेपनि बिभिन्न बाधा व्यवधान र अबरोधका कारण समयमा बसपार्क निर्माणको कार्य शुरु हुन सकेको थिएन् । पछिल्लो सयम तुलसीपुरको वसपार्क निर्माणका लागि उच्च अदालत तुलसीपुरले दायर गरेको रिट खारेज गरेपछि तुलसीपुुर उप–महानगरपालिकाले आधुनिक वसपार्क निर्माणको काम शुरु गरेको हो ।

Screenshot_2017-06-13-08-58-18-1कुल ३४ करोडको लगानीमा आधुनिक बसपार्क निर्माण गर्ने लक्ष्य राखिएको भएपनि पहिलो चरणको काम भने साढे १० करोडको मात्रै हुने छ । बहुबर्षिय योजना अन्तरगत राखिएको वसपार्क निर्माणको काम त्यसपछि क्रमिक रुपमा अगाडि बढाउन सहज हुने अपेक्षा गरिएको छ ।

२०७४ बैसाख ५ गते निर्माणको जिम्मा पाएको शिब शक्ति निर्माण कम्पनीले १५ महिना भित्र आधुनिक बसपार्क निर्माण गरि सक्ने गरि निर्माणको काम स्वीकार गरेको छ । ५.५ प्रतिसत व्याजदरमा नगर बिकास कोषले उपलब्ध गराएको ९ करोड तथा कोषको एक करोड अनुदान र तुलसीपुर उप–महानगरपालिकाको ५० लाख गरि कुल १० करोड ५० लाखमा पहिलो चरणको काम हुनेछ । तुलसीपुर उप–महानगरपालिकाका बित्तिय अधिकृत ललितबहादुर घर्तीका अनुसार उक्त रकमबाट १६ कोठे टर्मिनल भवन, गार्डेन, रेष्टुरेन्ट, ५० वटा सपिङ्ग स्टल, सार्बजनिक सौचालय, रेष्टरेन्ट, पक्की सडक र सडक बत्ति निर्माण गरिने छ ।
तुलसीपुर उप–महानगरपाकिा ५ मा निर्माण हुन लागेको अधुनिक बसपार्क तथा सपिङ्ग स्टल निर्माणको शिलन्यास कार्यकारी अधिकृत टोपेन्द्रबहादुर केसीले गरेका हुन । उनकै अध्यक्षतामा कार्यक्रममा बक्ताहरुले गुणस्तरीय र समयमै पुरा गर्न निर्माण कम्पनीलाई आग्रह गरेका थिए ।

कार्यक्रममा साबिक तुलसीपुर नगरपालिकाका मेयरहरु शंकर आचार्य र ढुण्डिराज लामिछाने, नागरिक समाज दाङका संयोजक टिकाराम रेग्मी, पत्रकार शरद रेग्मीलगायतले मन्तब्य ब्यक्त गरेका थिए । त्यस अबशरमा तुलसीपुर नगरपालिकाका कार्यकारी अधिकृत टोपेन्द्र केसीले वर्षाैदेखिको आधुनिक बसपार्क निर्माणको सपना अब सार्थक हुने निश्चित भएको भन्दै त्यसमा सबैले सहयोग गर्न आग्रह गरे ।
साथै उनले काम तोकिएकै समयमा पुरा हुने कुरामा कुनै आशंका नगर्न पनि अनुरोध गरे । वरिष्ठ बित्तिय अधिकृत ललितबहादुर घर्तीले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण सुचना अधिकारी झरेन्द्र खरेलले गरेका थिए । यसैबीच आधुनिक बसपार्क निर्माण गर्न सिलन्यास भएसंगै अब छिट्टै आधुनिक वसपार्क उपभोग गर्ने पाउने लालसामा स्थानीयवासी छन् । बर्षामा हिलाम्मे अनि गर्मी सयमा धुलाम्मे हुने तुलसीपुर वसपार्कको कुरुप रुप अबको एक वर्ष भित्रै पुरै आधुनिक बनिसक्ने छ । तुलसीपुरवासीले आधुनिक बसपार्क निर्माण प्रक्रियालाई अगाडि बढाउनका लागि पटक÷ पटक दवाद दिदै आएका थिए ।