घोराही । नेकपा माओवादी केन्द्र घोराही १८ ले शनिवार चुनावी ¥याली गरेको छ । मसिनाको सम्पर्क कार्यालयबाट शुरु भएको ¥याली नयाँवस्ती बिलौनाबजारमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई मेयरका उम्मेदवार जीवन गौतम र उपमेयरका उम्मेदवार सिता चौधरीले सम्वोधन गर्नुभएको थियो ।
नयाँ वस्तीबाट पुनः गिठेपानीमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई पोलिटब्यूरो सदस्य भीमकुमारी बाँठाले सम्वोधन गर्नुभएको थियो । त्यहाँबाट पुनः गुम्बा, रानीजरुवा, ढाडेनी, फुर्सेकाली, रझेना, ट्राफिकचोक, नवलपुर, अम्बापुरहँदै बाँसखोलीमा पुगेर कोणसभामा परिणत भएको थियो । सभालाई विद्यार्थी नेता विनोद पुन, वडा अध्यक्ष मधु अर्याल, वडा अध्यक्षका उम्मेदवार सतबहादुर रोकालगायतले सम्वोधन गर्नुभएको थियो ।
नेकपा माओवादी केन्द्र घोराहीले घोराही ४ सवारीकोटमा चुनावीसभा गरेको छ । सभालाई सम्वोधन गर्दै घोराही उपमहानगरको मेयर पदका उम्मेदवार जीवन गौतमले माओवादी जनयुद्धका कारण गाउँगाउँमा सिंहदरवारका अधिकार आएकाले यसलाई सही प्रयोग गर्न सही नेतृत्व चाहिने बताउनुभयो । कार्यक्रममा उपमयर पदका उम्मेदवार सिता चौधरी, केन्द्रीय सदस्य निर्मल महरा, उपमहानगर अध्यक्ष विश्वराज आचार्य, वडा अध्यक्ष पदका उम्मेदवार गेदलाल रिजाललगायतले बोल्नुभएको थियो । कार्यक्रममा रक्तबीज सांस्कृतिक परिवारले सांस्कृतिक कार्यक्रम देखाएको थियो ।
त्यस्तै माओवादी केन्द्रले जिल्लाभरि चुनावीसभा र घरदैलो सञ्चालन गरिएको जनाएको छ । जिल्लाका एक सय वडामध्ये प्रायः सबैले चुनावी प्रचार प्रचार तीब्र बनाएको माओवादी केन्द्र दाङको चुनाव प्रचार सूचना केन्द्रले जनाएको छ ।
जबरजस्ती झण्डा राखेकोमा आपत्ति
यसैबीच घरमा मान्छे नभएको बेला कांग्रेस कार्यकर्ताले आफ्नो पार्टी समर्थकका घरमा झण्डा गाडेको भन्दै माओवादी केन्द्र राजपुर ७ ले आपत्ति जनाएको छ । घरका सदस्य मकै गोड्न बारीमा गएको बेला घरमा झण्डा गाडिएको भन्दै आफ्नो मर्यादाभित्र रहेर चुनाव प्रचार गर्न आग्रह गरेको छ ।











