सोलुखुम्बु । पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचनपछि बनेको जनसरकारमा कांग्रेस एमालेहरु पनि आएको बताए ।

prachanda (1)नेकपा माओवादी केन्द्र सोताङ र महाकुलुङ गाउँपालिकाले संयुक्त रुपमा सोताङमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘हिजो हामीले जनयुद्ध लड्यौं, जनताका आफ्नै प्रतिनिधिले आफ्नो सरकार चलाउनुपर्छ भन्यौं, त्यो बेला कांग्रेस, एमाले लगायतका पार्टीहरुले मानेनन् । अहिले सिंहदरबारको अधिकार गाउँ, नगरमा आएको छ । अहिले सम्पन्न भएको निर्वाचन कुनै गाउँ पञ्चायत वा गाउँ विकास समितिको निर्वाचन होइन । एक अर्थमा भन्दा यो जनसरकारको निर्वाचन हो । निर्वाचनमा कुन पार्टीले जित्यो वा जितेन, त्यो ठूलो कुरा होइन । तर, जनताले जितेका छन् । गाउँ–गाउँमा सरकार आएको छ । हिजो जनताको घरआँगनमा सरकार बन्नुपर्छ भन्दा आतङ्ककारी देख्ने कांग्रेस एमाले लगायतका पार्टीहरु पनि अहिले जनसरकारमा आएका छन् । माओवादीका लागि यो नै सबैभन्दा ठूलो विजय हो ।’

चुनौतिपूर्ण समयमा बनेको सरकारले नमूनायोग्य काम गरेको प्रचण्डले बताए। उनले भने, ‘म प्रधानमन्त्री बन्दै थिएँ, एकथरि मान्छेहरु विदेशीको ईशारामा प्रचण्ड प्रधानमन्त्री बन्यो भनेर हल्ला गर्दै थिए । संविधान कार्यान्वयन नगर्न, चुनाव हुन नदिन, फास्ट ट्रयाक बेच्न, चीनसँग भएका सम्झौता कार्यान्वयन नगर्न, विकास र समृद्धिलाई अवरुद्ध गर्न प्रचण्ड आएको भन्दै हल्ला गर्दै थिए । तर, हामीले कामले त्यसलाई गलत सावित गरेरै छोड्यौं । प्रचण्ड प्रधानमन्त्री नभएको भए राष्ट्रिय एकता जोगिन्थ्यो त रु फास्ट ट्रयाक नेपाल आफैले बनाउँथ्यो त ? भारत र चीनबीच सन्तुलित सम्बन्ध बन्थ्यो त ? १८ घण्टासम्मको लोडसेडिङ अन्त्य हुन्थ्यो त रु ०।८५ मा रहेको आर्थिक बृद्धिदर ७।५५ पुग्थ्यो त रु विकास आयोजनाहरुले तिब्रता पाउँथे त ? विदेशमा रहेका नेपालीहरुले आफ्नै सरकारको अनुभूति गर्न सक्थे त ? पक्कै सक्दैनथे । त्यसैले हामीले भाषण र गफले होइन, कामले देशको प्रतिष्ठा जोगाएका छौं ।’

प्रधानमन्त्री पदमा रहँदा संविधान कार्यान्वयन, विकास र समृद्धिमा ध्यान केन्द्रित गरेको बताउँदै प्रचण्डले ‘प्रधानमन्त्री पदमा रहँदा सम्पूर्ण ध्यान संविधान कार्यान्वयन, विकास र समृद्धिमा केन्द्रित गरें । माओवादी पार्टीले जित्छ कि हार्छ ? त्यसमा बिलकूल चासों राखिनँ । अबको ध्यान पार्टी निर्माणमा दिन्छु । प्रदेश र सङ्घको निर्वाचनसम्म माओवादी केन्द्र पहिलो पार्टी बनाउने संकल्प गर्छु । अरुले कुहेको पीठो बेचिरहेका छन्, हामीले गुणस्तरीय चामल बेचौं र माओवादी केन्द्रलाई फेरी पहिलो पार्टी बनाउने संकल्प गरौं ।’