Kamal Thapa (RPP-N Chairman)

काठमाडौं, २६ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई मत दिने राष्ट्रिय प्रजातन्त्र पार्टीलाई सत्तामा सहकार्य गर्न आग्रह गर्दैै सरकारी वार्ता टोलीसँग छलफल गरी निर्णयमा पुग्न आग्रह गरेका छन् । देउवाले गठन गरेको कांग्रेसको तीन सदस्यीय वार्ता टोलीसँग राप्रपाले छिट्टै निर्णायक वार्ता गरी सत्तामा जाने तयारी गरेको छ ।

Kamal Thapa (RPP-N Chairman)

राप्रपाका वरिष्ठ उपाध्यक्ष दीपक बोहराले कांग्रेस र राप्रपाको वार्ता टोलीबीच शनिवारसम्म निर्णायक वार्ता भई आफ्नो पार्टी देउवा सरकार सहभागी हुने जानकारी दिए। उनले भने, ‘एकदुई दिनभित्रै निर्णायक वार्ता गरी राप्रपा सत्तामा जान्छ । वर्तमान सरकारको पक्षमा संसद्मा मतदान गरेकाले संविधान कार्यान्वयनका लागि सत्ता साझेदारीमा सहभागी भइन्छ ।

राप्रपाले सम्मानजनक हैसियत पाएमात्र राप्रपा सरकारमा जानुपर्छ भन्दै पार्टी अध्यक्ष कमल थापा, नेता दिलनाथ गिरीलगायतले अडान लिएका छन् । उनीहरुले सत्ता नेतृत्व गर्ने कांग्रेसले आफूहरूको ३७ सिटको ग्र्याभिटीलाई सम्मान गर्नुपर्नेमा जोड दिइरहेका छन् । अन्नपूर्ण पोष्टमा खबर छ । फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले उपप्रधानमन्त्री सहितको सम्मान पाउँदा संसद्को चौथो ठूलो दलले नपाउनुपर्ने कुनै कारण नरहेको तर्क अध्यक्ष थापा पक्षधरको छ ।

पूर्वअध्यक्ष पशुपतिशम्शेर राणा, वरिष्ठ उपाध्यक्ष बोहरालगायतका पक्ष भने सत्तामा साझेदार हुनुपर्ने अडानमा छन् । ‘सरकारमा जाने र नजाने भन्ने पार्टीमा दुई धार छ, सत्ता पक्षको वार्ता टोलीसँग निर्णायक वार्ता भएको छैन । त्यसैले सत्ता सहभागिताका विषयमा इन्कार गरिसकेका छैनौं, पाँचौ र छैटौं दलले जुन हैसियत यो सरकारमा पाइरहेका छन् । त्यसैअनुसार चौथो दलको सम्मान हुनुपर्ने माग हाम्रो होु, राप्रपा नेता दिलनाथ गिरीले भने । अध्यक्ष थापा पक्षका अर्का एक नेताले भने, ‘गच्छदार उपप्रधानमन्त्री हुँदा चौथो दलले उपप्रधानमन्त्री पाउन नहुने कारण के छ । संसद्को ३७ सिटको ग्र्याभिटीलाई सम्मान हुँदा सरकारमा जान्छौं ।

देउवाको तीन सदस्यीय वार्ता टोली विमलेन्द्र निधि, रमेश लेखक र ज्ञानेन्द्रबहादुर कार्कीसँग राप्रपाको तीन सदस्यीय वार्ता टोली जयन्त चन्द, गिरी र कुन्ती शाहीबीच शनिवार वार्ता हुनेछ ।