काठमाडौँ, २० जेठ । भाडा वापतको रकम बुझ्न नेपाल सरकार नै अन्योलमा परेपछि पूर्व राजा वीरेन्द्रको नाममा रहेको जग्गा उपभोग गर्दै आएको संस्थाले विगत नौ वर्षदेखि सो रकम बुझाउन पाएको छैन ।
विश्व युवा अन्तर्राष्ट्रिय संगठनले वल्र्ड युथ इन्टरनेसल स्कुल सञ्चालनका लागि २०५६ सालमा काठमाडौँको गोकर्णस्थित पूर्व राजा वीेरेन्द्रको नाममा रहेको ४० रोपनी १३ आना एक पैसा एक दाम जग्गा १० वर्षका लागि भाडामा लिएको थियो । त्यसमध्ये स्कुलले १२ रोपनी मात्र जग्गा उपभोग गर्दै आएको छ । सो जग्गाको भाडावापत मासिक एक रुपियाँ बुझाउनुपर्ने सम्झौता तत्कालीन राजदरबारसँग गरिएको थियो । राजसंस्था रहुन्जेल सो रकम दरबारको ढुकुटी विभागमा बुझाइन्थ्यो ।
दरबारसँग जग्गा भाडामा दिने सम्झौता गर्दा सहभागी हुनुभएका तत्कालीन राजप्रासाद सेवाका कर्मचारी तथा हाल नेपाल ट्रष्टको कार्यालयका सहसचिव लेखबहादुर कार्कीले सो जग्गाका बारेमा सोधखोज गर्नुभएपछि नेपाल सरकारका नाममा सो जग्गा थपिन पुगेको छ ।
स्कुलका प्रिन्सिपल निराजन सेढाईले मुलुकमा गणतन्त्र स्थापनापछि भाडा वापतको रकम बुझाउन प्रधानमन्त्रीको कार्यालयमा जाँदा त्यहाँका कर्मचारीहरुले यसबारेमा आफूहरुलाई थाहा नभएको बताएपछि रकम बुझाउन नसकिएको बताउनुभयो । त्यसबेला नेपाल ट्रष्टको कार्यालय स्थापना भइसकेको थिएन ।
कार्यालयका सहसचिव कार्कीले विगतमा सो जग्गा स्वतः सरकारको नाममा आउनुपर्नेमा थाहा नपाएकाले नामसारी हुन नसकेको र सो जग्गा नेपाल सरकारको स्वामित्वमा ल्याउन प्रक्रिया थालिएको जानकारी दिँदै भन्नुभयो, “स्वामित्वमा आइसकेपछि कार्यालयले २०६५ सालयता जग्गाको नयाँ भाडा दर कायम गर्नेछ । स्कुलले नचर्चिएको जग्गामा तारबार गरेर संरक्षण गर्ने योजना बनाएका छौँ ।” सो जग्गा प्रयोग गर्दै आएको स्कुलले अष्ट्रेलियाली सहयोगमा २७१ विद्यार्थीलाई निःशुल्क अध्ययनका साथै ५२ जनालाई निःशुल्क आवासीय सुविधा पनि उपलब्ध गराएको छ । गोरखापत्रबाट