काठमाडौं, २० जेठ । संसद सचिवालयले आइतवारका लागि प्रधानमन्त्रीको चुनाव तोकिसकेको छ । सचिवालयको कार्यतालिकाअनुसार वर्तमान गठबन्धन सरकारको तर्फबाट र प्रमुख विपक्ष दल नेकपा एमालेको तर्फबाट प्रधानमन्त्रीको दाउपेज खेल्ने काम चिर्किदैछ ।

deuba bamdevगठबन्धनको तर्फबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीका लागि तयार छन् भने प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले पनि देउवालाई प्रधानमन्त्रीमा अघि सारेमा पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्रीका लागि भिडाउने देखिएको छ ।

देउवा गठबन्धनमा रहेका राजनीतिक दलहरुसहित अन्य दलहरुसँग आफू प्रधानमन्त्री बन्नका लागि लभिङ गरिरहेका छन् । उनी जतिसक्यो भोलि संसदमा हुने चुनावमा आफूमाथि वहुमत जुटाउन कसिएका छन् ।

अहिले माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारमा सहभागी दलका ३ सय ११ सांसद छन् । प्रधानमन्त्री चयनका लागि व्यवस्थापिका संसद्का सदस्यहरूको बहुमत आवश्यक पर्ने हुन्छ । संसद्मा ५ सय ९३ सांसद रहेका छन् । बहुमतीय सरकार गठनका लागि २ सय ९७ सांसद आवश्यक पर्नेमा देउवाको पक्षमा ३ सय ११ मत अहिले नै जुटिसकेको देखिन्छ । वर्तमान गठबन्धनमा कांग्रेससँग २ सय सात, माओवादी केन्द्रसँग ८२, फोरम लोकतान्त्रिकसँग १७, नेकपा संयुक्तसँग तीन, अखण्ड नेपालसँग एक र समाजवादी जनता पार्टीसँग एक सांसद रहेका छन् ।

उता नेकपा एमाले पनि स्थानीय तहको पहिलो चरणको निर्वाचनमा पहिलो पार्टी भएपछि आफूलाई भावी प्रधानमन्त्रीको दाविदार ठान्दै आएको छ । उसले कतैबाट नेकपा माओवादी केन्द्रलाई आफूतिर तान्न सकिन्छ कि भनेर दाउमै छ । त्यसैका लागि अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग धेरै पटक लभिङ पनि गरिसकेका छन् । तर आफ्नो सरकार सहदाको सहपाठी काग्रेसलाई छोडेर माओवादी केन्द्रलाई आफ्नै सरकारको प्रतिपक्ष दल नेकपा एमालेसँग तत्काल जोडिन नैतिक संकट परेको छ ।