राजेन्द्र न्यौपाने
गोरखा, २० जेठ । राष्ट्रिय पुनः निर्माण प्राधिकरणका कार्यकारी प्रमुख डा. गोविन्दराज पोखरेलले भूकम्प प्रभावितहरुको घर सर्वेक्षणमा इन्जिनियरहरु खटाएको भएपनि उनीहरु तालुकदार र डिठ्ठा परेका कारण बास्तविक भूकम्प पीडितहरु छुट्न गएको बताएका छन् ।

gobinda pokhrel

गोरखामा शुक्रबार आयोजित स्थानीय तहका पदाधकिारहरु र सरोकारवाला निकायहरु वीचको छलफलमा पोखरेलले भत्केका घर नदेख्ने इन्जिनियरलाई खटाएर गल्ती भएको बताएका छन् । गल्तीलाई सुधार गर्न पुनः सर्वेक्षणमा दक्ष जनशक्ति, वास्तविक इन्जिनियर खटाउन लागिएको र उनीहरुलाई सहयोग गरेर पीडितलाई घर बनाउने अवस्था सिर्जन ागर्न स्थानीय तहका पदाधिकारीहरुलाई आग्रह गरेका छन् ।

एक वर्ष अघि बारपाकमा राष्ट्रपतिले सिलान्यास गरेको र निर्माण कार्य पूरा भएको र उक्त घर पास हुने पोखरेले बताए । गोरखा जिल्लामा हाल सम्म सात हजारको संख्यामा नयाँघरहरु निर्माण भएको प्राधिकरण कार्यालय गोरखाका शाखा अधिकृत राजेन्द्र कार्कीले बताए । हामीहरु सबै संवेदनशील भएर आफ्ना लागि काम गर्नुपर्ने पोखरेलको भनाई छ । साना योजनाहरु गाउँपालिका र नगरपालिका आफैले गर्ने र पुर्न निर्माणको काममा समेत सघाउने मौका आएको उनले बताए ।

प्राधिकरणका सदस्य हरिराम पराजुलीले १७ प्रकारका नमुना घर मध्ये जुनसुकै नमुनाका घर बनाए पनि हुने बताए । ५८ हजार छुटेका घरलाई पूनः सर्वेक्षण गरी घर नभएका परिवारलाई घर बनाउने वातावरण बनाउन प्राधिकरण लागि परेको उनको भनाई छ । गोरखाको केरौंजा, बारपाक, लापु, काशिगाउँ लगायतका खतरा भएका बस्तीहरुलाई स्थलगत अध्ययन गरी उपयुक्त स्थानमा सारिने उनले बताए ।

बुढी गण्डकी प्रभावितहरुलाई स्थायी आवास निर्माणका लागि अुनदान दिने र सुकुम्वासीका लागि जग्गा खरिदका लागि समेत अनुदान दिने सरकारले निर्णय गरेको उनले बताए । आशिंक रुपमा भत्केका घरहरुलाई मर्मत सम्भारका लागि एक लाख प्रदान गरिने उनको भनाई छ । अव इन्जिनियर सर्वेक्षणमा आउँदा गुनासो गर्ने ठाउँ नराख्न स्थानीय तहका जनप्रतिनिधिहरुलाई आग्रह गरे । शहरका जुनसुकै स्थानमा घर भएपनि गाउँमा बस्नेका लागि घर बनाउन आवश्यक रहेकोले घर बनाउनेलाई अवरोध नगर्न उनको आग्रह छ ।

अभिमूखिकरण तथा अन्तक्र्रिया कार्यक्रममा धार्चे मनासलु गाउँपालिकाका अध्यक्ष सन्तोष गूरुङले गुरुङ जातिको घरको धुरी एउटै हुने र भान्सा फरक फरक हुने भएपनि गाउँमा पुगेका इन्जिनियर एउटै धुरी कायम गर्दा लाप्राकमा धेरै घरधुरीहरु छुटेको बताए । साथै एनआएनले निर्माण गर्दै गरेको भवन मापदण्ड विपरित रहेकाले अनुगमन गर्न सुझाए ।

कार्यक्रममा पालुङटार नगरपालिकाका मेयर दिपकबाबु कँडेल, गोरखा नगरपालिकाका मेयर राजनराज पन्त, आरुघाट गाउँपालिका अध्यक्ष पूर्ण दाहाल, उपाध्यक्ष कल्पना नेपाली, शहीद लखन गाउँपालिका अध्यक्ष रमेश थापा मगर, उपाध्यक्ष इन्दिरा तिवारी, सुलिकोट गाउँपालिका अध्यष विष्णु भट्ट, अजिरकोट गाउँपालिका अध्यक्ष फणिन्द्र धिताल, भिमसेन गाउँपालिका अध्यक्ष इश्वरी पाण्डे, उपाध्यक्ष विनु वाग्ले लगायतले गाउँपालिका भित्र रहेका समस्याका बारेमा जानकारी गराएका थिए ।

प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतको अध्यक्षतामा भएको कार्यक्रम प्राधिकरण कार्यलय गोरखाका शाखा अधिकृत राजेन्द्र कार्कीको सञ्चालनमा जिल्ला समन्वय समितिको सभाहल गोरखामा भएको थियो ।