slcइन्द्रेणी संवाददाता
काठमाडौँ,२२ जेठ । व्यवस्थापिका संसद बैठकले बहुप्रतिक्षित शिक्षा ऐन २०२८ लाई संसोधन गर्न बनेको विधेयक पारित गरेको छ । संसदको शनिबारको बैठकले विधेयक पारित गरेसँगै प्रारम्भिक बाल शिक्षादेखि १२ कक्षासम्म विद्यालय तह भएको छ । शिक्षा ऐनमा भएको आठौं संशोधनले प्रारम्भिक बाल शिक्षा देखि कक्षा आठ सम्मलाई आधारभूत शिक्षा र नौ देखि कक्षा १२ सम्मलाई माध्यमिक शिक्षा भनेको छ । कक्षा १० को अन्तिममा हुने प्रवेशिका परीक्षा एसएलसीको पनि अन्त्य भएको छ । १२ कक्षाको अन्तिममा मात्रै अहिलेको एसएलसी जस्तो अर्को परीक्षा हुनेछ । अब राष्ट्रिय परीक्षा बोर्ड हुनेछ । बोर्डले कक्षा १० र माध्यमिक तहको अन्त्यमा हुने परीक्षा सञ्चालन गर्नेछ ।

व्यवस्थापिका संसदले पारित गरेको विधेयकमा उल्लेख भए अनुसार लामो समयसम्म अस्थायी सेवा गरेका शिक्षकहरूले पनि आकर्षक सुविधासहित बिदा हुने विकल्प पाएका छन् । संसदको महिला बालबालिका जेष्ठ नागरिक र समाज कल्याण समितिले एक साता अघि संसदमा पेश गरेको विधेयकलाई सर्व सम्मतिले पारित गरेको हो । सत्तापक्ष र विपक्षी सबै सांसदले उक्त विधेयकमा समर्थन जनाए । संसदमा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले शिक्षा आठौं संशोधन विधेयक २०७३ लाई पारित गरियोस भन्ने प्रस्ताव राखेका थिए ।

विधेयकमा अस्थायी शिक्षकलाई सेवा सुविधा लिएर अवकाश दिने या प्रतियोगितामा सहभागी हुन पाउने गरी दुवै विकल्प खुला राखिएको छ । शिक्षा मन्त्रालयका अनुसार अस्थायी शिक्षकहरु १७ हजार रहेका छन् । ५ वर्षदेखि १० वर्षसम्म अस्थायी सेवा गरेका शिक्षकलाई प्रत्येक वर्षको आधा महिनाको तलब पाउने छन् । त्यस्तै, १० वर्षदेखि १५ वर्षसम्म काम गरेका शिक्षकले एक महिना बराबरको र १५ वर्षभन्दा बढी काम गरेका शिक्षकले डेढ महिना बराबरको रकम पाउने भएका छन् ।