घोराही, ११ जेठ । नेकपा एमालेले आगामी स्थानीय तह निर्वाचनका लागि तयार पारेको घोराहीको प्रतिवद्धता पत्रमा छलफल गरेको छ । नेकपा एमाले घोराही उप महानगरले आयोजना गरेको अन्तरक्रियामा उक्त प्रतिवद्धता पत्रमा छलफल गरिएको थियो ।
स्थानीय तहको निर्वाचनमा घोराहीका दिर्घकालिन विकास र सम्वृद्धिका लागि नेकपा एमालेले जित पछि गर्ने नीति र कार्यक्रम समेटिएको प्रतिवद्धता पत्र सार्वजनिक गरिएको थियो । जसमा विभिन्न १५ वटा नीति र २७ वटा कार्यक्रमहरु समावेश गरिएको छ ।
नेकपा एमाले घोराही उ प महानगर कमिटीका संयोजक राममणि नेपालीको अध्यक्षतामा भएको छलफल कार्यक्रममा घोराही उप–महानरपालिका भित्रका सम्भावित उमेदवारहरुले धारणा राखेका थिए । घोराहीलाई सुन्दर, नमूना र समृद्ध उप महानगरपालिका बनाउनका लागि तत्कालिन, अल्पकालिन र दिर्घकालिन योजना बनाएर अघि बढ्ने बारेमा पनि विभिन्न सुझावहरु राखिएको थियो ।
प्रतिवद्धता पत्र निर्माणका लागि गठन गरिएको समितिका संयोजक माधवप्रसाद शर्माले नेकपा एमालेको नेतृत्वमा बन्ने स्थानीय सरकारले गर्ने कामको खाका प्रतिवद्धता पत्रमा राखिएको जानकारी दिनुभयो । उहाँले उप महानगरका सवै वडाका समस्या र सम्भावनालाई समेटेर प्रतिवद्धता पत्र तयार पार्न थालिएको जानकारी दिनुभएको थियो ।
समितिका सदस्य तथा नेकपा एमाले दाङका सचिवालय सदस्य शरद अधिकारीले प्रतिवद्धता पत्र प्रस्तुत गर्नुभएको थियो भने अर्का सदस्य नेपाल सरकारका पूर्व सह सचिव रमेशकुमार अधिकारीले जनताको मन छुने खालका कार्यक्रमहरु प्रतिवद्धता पत्रमा समावेश गरिएको जानकारी दिनुभयो ।
कार्यक्रममा नेकपा एमाले दाङका अध्यक्ष टिकाराम खड्काले नेकपा एमाले दाङले जिल्लातहको संकल्प पत्र तयार गरेको जानकारी दिनुभएको थियो । उहाँले दाङका सवै १० वटा गाउँ तहका लागि प्रतिवद्धता पत्र तयार गर्ने काम भइरहेको बताउनुभयो ।
नेकपा एमाले घोराहीले तयार पारेको प्रतिवद्धता पत्रमा घोराही उप महानगरलाई बालमैत्री, अपाङ्ग मैत्री, महिला मैत्री र वृद्ध मैत्री शहरका रुपमा विकास गर्ने देखि लिएर बस्ती विकास, शिक्षाको विकास, मानविय संशाधन, संचार, यातायात, सिचाई लगायतका क्षेत्रमा गर्ने कामका बारेमा उल्लेख गरिएको छ । छलफलमा आएका सुझावलाई समेटेर केही दिनमा सार्वजनिक गर्ने तयार भइरहेको प्रतिवद्धता पत्र तयारी समितिका संयोजक माधवप्रसाद शर्माले जानकारी दिनुभयो ।