13315664_1820866888144733_5032129109286603647_nइन्द्रेणी संवाददाता

घोराही,२२ जेठ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक तथा प्रवक्ता प्रकाशराज शर्माले विशेष सुरक्षा योजना अन्तर्गत शुक्रवार देउखुरी क्षेत्रका विभिन्न प्रहरी चौकीहरुको निरिक्षण गर्नुभएको छ । अपराधन नियन्त्रण तथा दुर्घटना न्यूनीकरण सम्वन्धी जिल्ला प्रहरी कार्यालयको विशेष योजना अन्तर्गत प्रहरी उपरिक्षक शर्माले इलाका प्रहरी कार्यालय गढवा, सिमा प्रहरी चौकी कोइलावास लगायतका प्रहरी चौकीहरुको निरिक्षणका साथै जनताहरुलाई सहज रुपमा सेवा प्रदानका लागि निर्देशन समेत दिनुभएको छ ।

यहि जेठ १७ गतेदेखि सुरु भएको विशेष सुरक्षा योजना अन्तर्गत प्रहरी चौकीहरुको अनुगमण निरिक्षणसँगै जनताहरुको कसरी समाजमा शान्ति सुरक्षा प्रदानसँगै अपराध नियन्त्रणमा खेल्न सक्ने भुमिकाका बारेमा प्रहरीहरुलाई निर्देशन समेत दिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता समेत रहनुभएको प्रहरी नायव उपरिक्षक शर्माले बताउनुभएको छ ।

जिल्लामा बढ्दो अपराधिक गतिविधि,सडक दुर्घटनाका साथै लागुपदार्थ दुव्यर्सनी न्यूनिकरण नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय दाङले विशेष योजना बनाएको छ । जस अन्तर्गत प्रहरी चौकीहरुको निरिक्षण,प्रहरी चौकीको अवस्थाका साथै चौकीमा प्रहरीहरुले भोग्नु परेको समस्या पहिचान गरेर समाधान गरिने शर्माले बताउनुभएको छ । निरिक्षणका क्रममा इलाका प्रहरीकार्यालय गढवाका प्रमुख राज थापा र सिमा प्रहरी कार्यालय कोइलावासका प्रमुख खगेन्द्र कुमार श्रेष्ठले प्रहरी चौकी र प्रहरीले गरेका कार्यहरुको बारेमा जानकारी गराउनुभएको थियो । विशेष सुरक्षा योजना अन्तर्गत अनुगमण र चेकजाचलाई तिव्रता दिने जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।