दाङ, ७ जेठ । ‘कुनै समयमा अरुको घरमा कमैया बस्दै आएका यहाँका किसान बेमौसमी तरकारीखेतीबाट मनग्य आम्दानी गर्न सफल भएका छन् । आफ्नो खेतबारीमा अहिले लटरम्म काँक्रा, बोडी, करेलालगायतका तरकारी फलेका छन्, तुलसीपुर उपमहानगरपालिका उत्तरकपडादेवीका ५० वर्षीय गोकुल चौधरीले भने– ‘तरकारी खेतीको आम्दानीबाट नै आठजना परिवारको जिविकोपार्जन राम्ररी चलेको छ, सबै खर्च कटाएर यसैको आम्दानीबाट मासिक रू २० हजारसम्म बचत हुने गरेको छ ।’
खेतबारीमा फलेका तरकारी उनले तुलसीपुर बजारमा ल्याएर बेच्ने गरेका छन् । काँक्रा, बोडी, करेलालगायतका बेमौसमी तरकारीे फलाएर उनले सबै खर्च कटाई मासिक रू। २० हजार आम्दानी गर्ने गरेको बताउँछन् । पहिला पहिला अरुको खेतवारीमा ज्याला मजदूरी गरे जसोतसो जिवन निर्वाह गर्दै आएका चौधरीले अहिले आफ्नै खेतवारीमा बेमौसमी तरकारी खेती गरेर मनग्य आम्दानी गर्न सफल भएका हुन् ।
‘उनले दैनिक रू। एक हजारदेखि एक हजार पाँचसय सम्मको बेमौसमी तरकारी बेच्ने गरेको बताउँछन् । ‘आफ्नो व्यवसायबाट म पूर्णरुमा सन्तुष्ट छु, आजभोलि कुनै साहुको घरमा ऋण लिन जानुपदैन, शिक्षा, स्वास्थ्य, घरायसी खर्च यसैबाट चलेको छ, उनले भने । ‘सबै खर्च कटाएर गत वर्ष बचेको रकमले जग्गा किनेको छु, यस वर्ष पनि करीब रू। तीन लाख रकम बचत गर्ने लक्ष्य छ, उनले भने । त्यस्तै, सोही ठाउँ वस्ने ४४ वर्षीय शेरबहादुर चौधरीले पनि बेमौसमी तरकारी खेतीबाट ६ जनाको परिवार पाल्नुका साथै मासिक रू। १७ हजार आम्दानी गर्ने गरेको बताउँछन् । उनी भन्छन्– ‘यसैको आम्दानीले छोराछोरीको शिक्षा, स्वास्थ्य र घरायसी खर्च टार्न सहज भएको छ, तरकारी खेतीबाट नै सबै खर्च कटाएर वार्षिक दुईलाख बचत हुने गरेको छ ।’ रासस