घोराही, ६ जेठ । प्रगतिशील लेखक संघ नेपाल दाङ शाखाले प्रगतिशील लेखक संघ नेपालका संस्थापक अध्यक्ष श्यामप्रसाद शर्माको निधनमा आज शनिबार घोराहीमा श्रद्धाञ्जली सभा आयोजना ग¥यो ।
प्रलेस दाङका अध्यक्ष शरद अधिकारीको अध्यक्षता एवं प्रगतिशील लेखक संघ नेपाल दाङका सल्लाहकार गिरीराज शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्नेहरुले श्यामप्रसाद शर्माको लेखनी र व्यक्तित्व सरल रहेको बताएका थिए । शर्माले लेख्नुभएका सवैजसो कृतिहरु सरल भाषामा लेखिएको र सवैले बुझ्ने खालका रहेको बताउँदै बक्ताहरुले होचो कदक अग्लो व्यक्तित्वका रुपमा सँझना भइरहने बताएका थिए ।
कार्यक्रममा प्रमुख अतिथी शर्माले स्व. श्यामप्रसाद शर्मा प्रलेसका लागि सिंगै पाठशाला भएको बताउनुभयो । प्रलेसको स्थापना गरेर नेपालभरका बामपन्थी साहित्यकारहरुलाई एकै ठाउँमा ल्याउने काम स्व. साहित्यकारले गरेको भन्दै प्रमुख अतिथि शर्माले उहाँको व्यक्तित्व र कृतित्वका बारेमा बोल्नुभएको थियो ।
उक्त अवसरमा राप्ती साहित्य परिषदका केन्द्रीय अध्यक्ष पुरुषोत्तम खनाल, छलफल चौतारीका संयोजक सुशिल गौतम, प्रलेसका राष्ट्रिय परिषद सदस्य केशव थापा, राप्ती साहित्य परिषद दाङका पूर्व अध्यक्ष डा. लोकराज पराजुली, साहित्यकारहरु शरद देवकोटा, शालिकराम रजौरे लगायतले बोल्नुभएको थियो ।
प्रलेस दाङका उपाध्यक्ष डिल्ली मल्लको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन जिल्ला सचिव खगेश्वर भण्डारीले गर्नुभएको थियो ।
शर्मालाई बधाई
यसैबीच प्रलेस दाङले बरिष्ठ साहित्यकार तथा पत्रकार नारायणप्रसाद शर्माले हालै बरिष्ठ साहित्यकार र प्रज्ञा प्रतिष्ठानको पुरस्कार पाउनुभएकोमा बधाई ज्ञापन गरेको छ । प्रलेस दाङको शनिबार नै बसेको बैठकले शर्मालाई बधाई ज्ञापन गरेको हो ।
प्रलेस दाङका अध्यक्ष शरद अधिकारीको अध्यक्षतामा बसेको बैठकले आगामी असारको १७ गतेका दिन गोकुल जोशीको ५८ औं स्मृति दिवस मनाउने र साउनको १४ गतेका पिदन प्रेम चन्दको एक सय ३७ औं जन्म जयन्ती मनाउने निर्णय गरेको बैठक पछि सचिव खगेश्वर भण्डारीले जानकारी दिनुभयो ।