कैलाली, ५ जेठ । विगत डेढ दशकदेखि बन्द रहेका सुदूरपश्चिमका विमानस्थल हरेक वर्ष बजेट भाषणामा पर्ने गरेका भए पनि अहिलेसम्म सञ्चालनमा आउन सकेका छैनन् ।
विगतझै चालू आर्थिक वर्षको बजेटमा पनि कञ्चनपुरको मजगाउँ, बैतडीको पाटन, अछामको साँफेबगर र दार्चुलाको गोकुलेश्वर विमानस्थल मर्मत गरी सञ्चालनमा ल्याइने घोषणा गरिएको थियो तर यस वर्ष पनि कुनै काम हुन नसक्ने लगभग पक्का भएको छ । आर्थिक वर्ष सकिन अब दुई महिना मात्रै बाँकी रहेका बेला ती विमानस्थल मर्मतको काम खासै अगाडि बढेको छैन् ।
चालू आर्थिक वर्षमा दार्चुलाको गोकुलेश्वर र कञ्चनपुरको मजगाउँ विमानस्थल मर्मतका लागि बजेटको व्यवस्था नै नभएको अहिले खुलासा भएको छ भने पाटन र साँफेबगर विमानस्थलमा पनि धावन मार्ग पक्की गर्ने कार्य सुस्त गतिमा भइरहेको छ ।
२०६२ सालदेखि पूर्ण रूपमा बन्द रहेको अछामको साँफेबगर विमानस्थल सरकारले यसै आर्थिक वर्षभरिमा सुचारु गर्ने बजेटमा भनेपछि अछामी जनतामा विमानस्थल सुचारु हुने झिनो आशा जागेको थियो तर अहिलेसम्म पनि विमानस्थल मर्मतका लागि खासै काम भएको छैन् ।
विमानस्थलको धावनमार्ग कालोपत्रे गर्ने योजना गत आर्थिक वर्षमा पनि थियो भने चालू आर्थिक वर्षमा यसैलाई निरन्तरता दिँदै विमानस्थलको टर्मिनल भवनका लागि पनि केही बजेट विनियोजन गरिएको छ । कालोपत्रेका लागि अमर कन्सट्रक्सनसँग एक महिनाअघि झण्डै नौ करोड रुपियाँमा ठेक्का सम्झौता भएको छ तर ठेकेदारले काम सुरु नगरेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता धिरेन्द्रप्रसाद श्रेष्ठले बताउनुभयो ।
२०३४ सालमै सञ्चालनमा आएको बैतडीको पाटन विमानस्थल पनि २०५२ सालदेखि पूर्ण रूपमा बन्द भएपछि सरकारले चालू आर्थिक वर्षमा मर्मत गरी सुचारु गर्ने योजना ल्याइएको थियो । गाल्वा, चाङवीला जगदम्बा जेभीले विमानस्थलको धावनमार्ग कालोपत्रे गर्न ११ करोड रुपियाँमा ठेक्का पाइसकेको छ भने मङ्गलबार मात्रै नागरिक उड्डयन प्राधिकरण र ठेक्का पाएको निर्माण कम्पनीका तर्फबाट इन्जिनियर पाटन पुगेका छन् । ११ करोड रुपियाँमा १५ महिनाभित्रै धावन मार्ग कालोपत्रेसँगै धावन मार्गको ग्रेड, फिनिसिङ र मार्किङ पनि मिलाउनुपर्ने सम्झौता भएको पाटन विमानस्थल कालोपत्रेका साइट इञ्चार्जसमेत रहनुभएका नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर नलविक्रम थापाले बताउनुभयो ।
विगत ११ वर्षदेखि गौचरनमा परिणत भएको दिपायल विमानस्थलको कालोपत्रे गर्न ठेक्का सम्झौता भइसकेको छ । सपना गाल्बा जेभी निर्माण सेवाले पाँच करोड ५० लाख रुपियाँमा कालोपत्रेका लागि ठेक्का पाएको छ । करिब साढे चार सय मिटर लम्बाइ भएको विमानस्थलको कालोपत्रे गर्ने कार्य १५ महिनाभित्रै सकिने बताइएको छ । कालोपत्रेका लागि अधिकतम गिट्टीको आवश्यकता हुने भएकाले अहिले दिपायलमा क्रसर फिट गरी गिट्टी उत्पादनको काम भइरहेको निर्माण कम्पनीले जनाएको छ ।
कालोपत्रे गर्न असारमा निस्किएको टेन्डर गत कात्तिकमा आएर सम्झौता भएको दिपायल विमानस्थल कालोपत्रेका साइट इञ्चार्जसमेत रहनुभएका नागरिक उड्डयन प्राधिकरणका वरिष्ठ अधिकृत बालकृष्ण रेग्मीले बताउनुभयो । पाटन, दिपायल र साँफेबगर विमानस्थल कालोपत्रे गरी सञ्चालनका लागि भएको ठेक्का अनुसार अहिलेसम्म देखिने खासै प्रगति भएको छैन् ।
भवानी ऐर /गोरखापत्र