काठमाडौँ, ५ जेठ । निर्वाचन आयोगले पहिलो चरणको स्थानीय तहको निर्वाचनको काममा अटेर गर्ने सात जना उपसचिवलाई कारबाही गर्न निर्देशन दिएको छ । आयोगका प्रमुख आयुक्त डा। अयोधीप्रसाद यादवको अध्यक्षतामा बुधबार बसेको आयोगको पूर्ण बैठकले कारबाहीको यस्तो निर्देशन दिएको हो ।
आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार तोकेको जिम्मेवारी पूरा गर्न अटेर गरेको र आयोगले दिएको नियुक्तिपत्रसमेत नलिई गैरजिम्मेवार व्यवहार गरेको जनाउँदै ती सात उपसचिवलाई सचेत गराई १५ दिनभित्र त्यसको जानकारी आयोगलाई उपलब्ध गराउन निर्देशन दिएको छ । गोरखापत्रमा खबर छ ।
अटेर गर्ने कर्मचारीहरूमा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति गुह्येश्वरीका जीवनराम पुरी, महालेखा नियन्त्रक कार्यालयका काशीनाथ भट्टराई, राष्ट्रपति कार्यालयका प्रह्लादप्रसाद पुडासैनी, सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका खेमप्रसाद उपाध्याय, पुष्पलाल मध्य पहाडी लोकमार्ग आयोजनाका शिवराम भट्टराई, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका राजेन्द्र घिमिरे र नारायणहिटी दरबार सङ्ग्रहालयका रोहितकुमार ढुङ्गाना रहेको आयोगले जनाएको छ ।