काठमाडौं, २ जेठ । नेपाली कांग्रेससँग भएको पूर्व सहमति अनुसार, प्रधानमन्त्री प्रचण्डले बजेट ल्याएर सत्ता हस्तान्तरण गर्ने भएका छन् । सरकार गठन गर्ने बेलामा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच नौ नौ महिना सरकार चलाउने औपचारिक सहमति भएको थियो ।

prachanda- deuba..“हामी राजनीतिक इमान्दारितामा विश्वास गर्छौ, सत्ता ठूलो होइन, देशले निकास पाउन हाम्रो गठबन्धन कायम हुनुपर्छ भन्ने धारणा हो ।” प्रचण्ड निकट श्रोतले एभरेष्टदैनिकलाई बतायो ।

संविधानको सफल कार्यान्वयन गरी देशलाई निकास दिन नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धन अनिवार्य र अपरिहार्य रहेको बताउँदै श्रोतले भन्यो, “सत्तामा टाँसिएर बस्नु जरुरी छैन । चुनाव हुन्छ कि हुँदैन भन्ने अलमल थियो, अब एउटा बाटो खुलेको छ, पिएमले नेपाली कांग्रेसलाई उपयुक्त अवस्थामा सरकार हस्तान्तरण गर्नुहुन्छ ।”

सत्ता हस्तान्तरण गर्ने विषयमा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउबा र प्रचण्डबीच अनौपचारिक सहमति भइसकेको उनले बताए । “हामीले नै बजेट ल्याएर देउबाजीलाई हस्तान्तरण गर्छौ, त्यसपछिको प्रक्रिया देउबाजीले अगाडि बढाउनुहुन्छ ।”

गठबन्धन कायम रहेसम्म सरकारको मूल स्पिरिटमा कुनै असर नपर्ने बताउँदै श्रोतले सरकारको नेतृत्वबाट बाहिरिए पनि माओवादी केन्द्रको अध्यक्षका हैसियतले प्रचण्डले विशिष्ट भूमिका खेल्ने बताए । “संविधान कार्यान्वयन र आर्थिक समृद्धिमा देशलाई अगाडि बढाउने एउटा रोडम्याप बनेको छ, देउबाजी पनि त्यही अनुसार अघि बढ्ने हो । प्रचण्डको पूर्ण सहयोग देउबाजीलाई हुन्छ ।”

मन्त्रालयको हकमा भने केही मन्त्रीहरु फेरी दोहोरिन सक्ने उनले बताए । माओवादी केन्द्रबाट कसको नेतृत्वमा सरकार बन्ने भन्ने विषय अहिले टुंगो लागि सकेको छैन । नेपाली कांग्रेसले समेत कुन मन्त्रीलाई निरन्तरता दिने र कसलाई नयाँ लैजाने विषयमा अन्तिम निक्र्यौल गरिसकेको छैन ।

पहिलो चरणको निर्वाचनको मत परिणाम आउन ढिलाई भएकोले प्रचण्डले कहिले सत्ता हस्तान्तरण गर्ने भन्ने मिति भने तय भएको छैन । यद्यपी उनले जेठको दश गतेभित्र राजीनामा दिएर देउबाका लागि बाटो प्रशस्त गर्ने सम्भावना रहेको श्रोतले बतायो ।