काठमाडौँ, ३१ बैशाख । स्थानीय तहको निर्वाचन २०७४ को अवसरमा आज प्रेस काउन्सिल नेपालबाट विभिन्न जिल्लाका मतदान केन्द्रको स्थलगत अनुगमन गरियो ।
सो अवसरमा निर्वाचनको समग्र पक्षका साथै समाचार सङ्कलनका क्रममा मिडिया र पत्रकारले आचारसंहिता पालना गरे नगरेको तथा मतदान केन्द्रबाट सूचना प्रवाहका क्रममा पत्रकार र मिडियालाई सहजता प्रदान भए नभएको लगायतका विषयमा अनुगमन गरिएको थियो ।
यस कार्यका लागि काउन्सिलका निमित्ति अध्यक्ष किशोर श्रेष्ठ, सदस्यहरू डा.महेन्द्र विष्ट, खिलबहादुर भण्डारी, गोविन्द चौलागाईँ–काठमाडौँ, सदस्य सुदर्शन आचार्य–सिन्धुपाल्चोक, ईश्वरीप्रसाद ओझा–काभ्रे, सदस्य शुभेच्छा विन्दू तुलाधर–कीर्तिपुर र ललितपुर, सदस्य चेतनाथ धमला, मुख्य अधिकृत झविन्द्र भुसाल, कामु उपप्रशासकीय अधिकृत रामशरण बोहरा–काभ्रे, सिन्धुपाल्चोक, सदस्य संगीता खड्का, सहप्रशासकीय अधिकृत(सूचना अधिकारी) दीपक खनाल –थानकोट, नैकाप, जावलाखेल, मंगलबजार भक्तपुरका केन्द्रमा खटिनुभएको थियो ।
सो अवसरमा पत्रकारहरूले आचारसंहिताभित्र रहेर तस्वीर, रिपोर्ट लिएको मतदान अधिकृतहरूले बताएका थिए भने आफूहरूलाई मतदानसम्बन्धी सूचना प्रवाहका क्रममा सहजता प्रदान गरिएको सम्बन्धि क्षेत्रमा खटिएका पत्रकारहरूले प्रतिक्रिया दिएका थिए ।
स्मरणीय छ, प्रेस काउन्सिल नेपालले यही बैशाख १५ गतेदेखि पत्रपत्रिका, रेडियो, टेलिभिजन, अनलाइन र सामाजिक सञ्जालमा पत्रकार र निर्वाचन आचारसंहिताको अनुगमन गरिरहेको छ ।
