काठमाडौँ, ३१ बैशाख । स्थानीय तह निर्वाचनको मतदानको दिन सवारी साधन चलाउन नपाइने नियम उलंघन गर्दै सञ्चालनमा आएका एक हजार नौ सय ५९ सवारी साधन ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।
निर्वाचन आयोगले अत्यावश्यक, सवारी अनुमति लिएका र सुरक्षाकर्मीका सवारी साधनबाहेक अन्यलाई आज बिहान ५ बजेदेखि बेलुकी ७ बजेसम्म सवारी साधन चलाउन निधेष गरेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी महाशाखाका अनुसार प्रहरी निरीक्षक मधुसूदन सिलवालले अपराह्न १ बजेसम्ममा एक हजार आठ सय ३४ मोटरसाइकल, ७६ कार, २८ ट्रक, ८ माइक्रोबस र छ बस नियन्त्रणमा लिइएको जानकारी दिए।