दाङ । दाङ जिल्लामा यस वर्ष धानखेतीका लागि रासायनिक मलको अभाव नहुने भएको छ । बर्खेखेतीका लागि आधाभन्दा बढी मल भित्रिसकेको र आवश्यकताअनुसार गोदाममा मौज्दातसमेत रहेकाले यस वर्ष बर्खायाममा रासायनिक मलको अभाव नहुने कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन जिल्ला शाखाले बताएको छ ।
जिल्लामा किसानले मकै र धानखेतीका लागि अहिलेसम्म करीव तीन हजार टन रासायनिक मल सहकारीमार्फत लगेका छन् । सहकारी संस्थाले अहिलेसम्म युरिया र डिएपी गरेर बर्खेखेतीका लागि तीन हजार २ सय ७५ दशमलव ७ प्रतिशत मल लगेकामा कृषि सामग्री कम्पनी लिमिटेडबाट दुई हजार १ सय २६ टन र साल्ट ट्रेडिङ कर्पोरेसनबाट एक हजार १ सय ४७ टन रासायनिक मल वितरण गरिएको बताइएको छ ।
सहकारी संस्थाको मागअनुसार मकै र धानखेतीका लागि जिल्लामा कृषि सामग्री कम्पनीले एक हजार ३ सय ३४ दशमलव पाँचटन युरिया, ७ सय ६६ दशमलव सातटन डिएपी र २५ दशमलव पाँचटन पोटास वितरण गरेको कृषि सामग्री कम्पनी लिमिटेड घोराही शाखा प्रमुख विष्णु केसीले जानकारी दिए ।
त्यस्तै ४४ दशमलव पाँचटन डिएपी, ७५ टन युरिया र ७७ टन पोटास मौज्दात रहेको उनले बताए । साल्ट टे«डिङको शाखाले दाङसहित राप्तीका सल्यान, रोल्पालगायतका जिल्लामा ६ सय ३७ टन युरिया, ४ सय ७५ टन डिएपी र ३७ टन पोटास वितरण गरेको शाखा प्रमुख आनन्द न्यौपानेले बताए ।
तुलसीपुर क्षेत्रमा पनि मल पर्याप्त रहेको र आजसम्म आउने कृषकले मल पाइराखेकाले यस वर्ष मलको त्यति अभाव नहुने कृषि सामग्री कम्पनीका शाखा प्रमुख तीर्थराज न्यौपानेले जानकारी दिए । रासस
