काठमाडौं, २० वैशाख । काठमाडौं महानगरपालिकाका पूर्व मेयर केशव स्थापितले अबको स्थानीय तहको निर्वाचनमा सत्तारुढ नेपाली कांग्रेसका उम्मेदवारले जित्ने संकेत गरेका छन् ।
मनोनयन दर्ता भएसँगै नेपाली काँग्रेसबाट काठमाडौंको मेयरमा उम्मेदवारी दिएका राजुराज जोशीलाई फोन गरेर अग्रिम बधाई दिँदै स्थापितले यस्तो संकेत गरेका हुन् ।
यो संकेत एमालेजनका लागि भने राम्रो होइन् । यसले चुनावमा अन्तर्घात हुनसक्ने देखाउँछ । काठमाडौं महानगरमा ५ हजार भन्दा बढी मतदाता त अझै पनि स्थापितको हातमा रहेको बताइन्छ । यस्तो बेला स्थापितबाट दायाबाया भए एमालेलाई नोक्सानी हुनसक्छ ।
काठमाडौंबासीमाँझ लोकप्रिय स्थापितले एमालेबाट मेयरको टिकट पाउने चर्चा भएपनि अन्तिममा विद्यासुन्दर शाक्यले पाए । यो निर्णयपछि स्थापितले कांग्रेसका जोशीलाई मंगलबार साँझ फोन गरेर शुभकामना दिएका हुन् ।
काठमाडौं महानगरका पूर्वमेयर स्थापितले आफूलाई अग्रीम बधाई दिएको जोशीले जानकारी दिए । उनले भने ‘केशब स्थापितले पनि मलाई फोन गरेर मैले मेयरको टिकट पाइन, अब जित्ने तपाईंले नै हो भनेर भनिसक्नु भएको छ ।’ व्यापक चर्चामा नाम आएपछि पनि एमालेले टिकट नदिएपछि स्थापित एमालेप्रति क्रुद्ध बनेका छन् । दैनिक नेपालबाट