काठमाण्डौ २० बैशाख । प्रेस काउन्सिल नेपालको आयोजनामा मंगलबार राजधानीमा स्थानीय तहको निर्वाचन आचारसंहिताको अनुगमन गर्ने सम्वन्धमा वृहत छलफल भयो । कार्यक्रममा पूर्व प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले सार्वजनिक सम्पत्ति तथा स्रोतसाधनको दुरुपयोग गर्ने प्रबृत्तिलाई निरुत्साहित पार्दै निर्वाचनलाई स्वच्छ, निश्पक्षरुपमा सम्पन्न गर्न प्रभावकारी अनुगमन र निगरानी गर्नुपर्ने धारणा राख्नुभयो ।
पूर्व प्र.नि.आ.उप्रेतीले देशभरका मिडिया खासगरी एफएम रेडियो तथा अनलाइनतर्फ काउन्सिल केन्द्रीत भई अनुगमन गरी गल्ती गर्ने र पीडित पक्ष दुवैलाई ठीक लाग्नेगरी कारवाही थाल्नुपर्ने, महिला, दलित र पिछडिएका वर्गको प्रतिनिधित्व हुनैपर्ने संविधानिक सुनिश्चिताले उम्मेदवारको ब्यक्तिगत चरित्र हत्या, लाञ्छना, भेदभाव हुनेगरी प्रकाशन÷प्रसारण हुन सक्नेतर्फ सचेत गर्नुभएको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष डा.महेन्द्र विष्टले मिडिया कोही कसैप्रति पूर्वाग्रही नहुन र सन्तुलन कायम राख्न मिडियाले जोड दिनुभएको थियो ।
सो अवसरमा प्राध्यापक तथा पत्रकार चिरिञ्जीवी खनाल, डा. कुन्दन अर्यालले विगतका निर्वाचनमा भएका आचारसंहिता उल्लघंनका प्रवृति र हुनसक्ने सम्भावित घटनाबारे धारणा राख्नुभएको थियो ।
काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसालले सञ्चालन गर्नुभएको कार्यक्रममा उप प्रशासकीय अधिकृत रामशरण बोहराले अनुगमनको पद्धतिबारे स्पष्ट पार्दै निर्वाचन आचारसंहिता अनुगमन योजनाबारे प्रस्तुति राख्नुभएको थियो ।