काठमाडौँ, ४ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारी ३४ सदस्यीय टोलीसहित सोमबार भारतको राजकीय भ्रमणमा जाँदै हुनुहुन्छ । सरकारले राष्ट्रपति भण्डारी भारत भ्रमणमा जाने र आउने दुवै दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

Bidhya-Bhandari-2राष्ट्रपति भण्डारीले पहिलो विदेश भ्रमणका रूपमा छिमेकी भारतको पाँचदिने भ्रमण गर्न लाग्नुभएको हो । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिको भारत भ्रमण स्वीकृत गर्दै बिदाको निर्णय गरेको छ । राष्ट्रपतिको भ्रमण टोलीमा परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत, शान्तिमन्त्री सीतादेवी यादव, सांसदहरू किरण यादव, उषा शाह, सीता नेपाली, पूर्व राज्यमन्त्री र पूर्व सांसदलगायत रहनुभएको छ । भ्रमण टोलीमा नयाँ दिल्लीस्थित नेपाली राजदूतावासका १५ कर्मचारी पनि सहभागी हुनुहुने छ ।

राष्ट्रपति भण्डारीको भारतीय समकक्षी प्रणव मुखर्जीको औपचारिक निमन्त्रणामा छिमेकी मुलुक भारतको पहिलोचोटि भ्रमण हुन लागेको हो ।
भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले भारतीय समकक्षी मुखर्जी, उपराष्ट्रपति हमिद अन्सारी र प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेट गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । भारतमा रहँँदा राष्ट्रपति भण्डारी विभिन्न स्वागत समारोहमा सहभागी हुनुुहुनेछ । भ्रमणका क्रममा उहाँ गुजरात र उडिसा राज्य पनि पुग्ने कार्यक्रम छ ।

यसअघि राष्ट्रपति भण्डारीको औपचारिक निमन्त्रणामा भारतका राष्ट्रपति प्रणव मुखर्जीले गत कात्तिक २७ देखि २९ गतेसम्म नेपालको भ्रमण गर्नुभएको थियो । गणतान्त्रिक नेपालका पहिलो राष्ट्रपति डा। रामवरण यादवले २०६६ फागुन ३ गतेदेखि भारतको राजकीय भ्रमण गर्नुभएको थियो । नेपाल गणतन्त्रात्मक मुलुक भएपछि पहिलो पटक छिमेकी राष्ट्र भारतबाट राष्ट्रपति मुखर्जीको नेपाल भ्रमण भएको हो । गोरखापत्रमा खबर छ । त्यसअघि भारतीय राष्ट्रपति केआर नारायणनले २०५५ जेठ १४ गते नेपाल भ्रमण गर्नुभएको थियो ।

यसैबीच, राससका अनुसार राष्ट्रपति भण्डारीको भारत भ्रमणका सन्दर्भमा पूर्वप्रधानमन्त्री सुुशील कोइरालाका विदेश मामिला सल्लाहकार डा। दिनेश भट्टराई संविधानतः आलङ्कारिक राष्ट्रपतिको यो भ्रमण पनि आलङ्कारिक नै हो भन्नुहुन्छ । उहाँले भन्नुभयो, “गत नोभेम्बरमा भारतीय राष्ट्रपतिको नेपाल भ्रमणलगत्तै हाम्रा राष्ट्रपतिको तय भएको भारत भ्रमण अहिले हुन लागेको छ । यो सद्भावपूर्ण हुने मेरो विश्वास छ ।”
राष्ट्रपतिको यो पहिलो विदेश भ्रमणलाई आत्मीय र सम्मानजनक बनाउनु राष्ट्रका लागि इज्जतको विषय हुने भएकाले त्यसअनुसार भ्रमणलाई सफल बनाउनु राज्यको दायित्व हुने उहाँको धारणा छ ।