काठमाडौं, ३ वैशाख । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितको संघीय गठबन्धनले ३१ वैशाखको स्थानीय तह निर्वाचन बिथोल्ने रणनीति तय गरेको छ । गठबन्धन शनिबार बसेको बैठकले आफ्ना माग पूरा नगरी सरकार निर्वाचनमा जुटेको भन्दै निर्वाचन बिथोल्ने निर्णय गरेको हो । बैठकले संविधान संशोधनको एजेन्डामा गठबन्धनसँग नजिक रहेका र आफ्ना मागमा सहानुभूति राख्ने दलहरूसँग सहकार्य गरी बृहत् शक्ति बनाई निर्वाचन बिथोल्ने रणनीति पारित गरेको गठबन्धन आबद्ध तराई मधेस लोकतान्त्रिक पार्टीका महामन्त्री जितेन्द्रसिंहले बताए ।
मोर्चासहितको २६ दल आबद्ध संघीय गठबन्धनले नयाँ शक्ति पार्टीका संयोजक डा। बाबुराम भट्टराई नेतृत्वको ६८ दलीय गठबन्धनसँग सहकार्य गर्दै आन्दोलन अघि बढाउने निर्णय गरेको छ । ‘हाम्रा माग सम्बोधन नहुने निष्कर्षका साथ हामीले बाबुराम भट्टराई नेतृत्वको गठबन्धनसँग सहकार्य गरेर निर्वाचन बिथोल्नेलगायत आन्दोलन गर्ने निर्णय गरेका छौं, थप रणनीति आपसी सहमतिमा तय हुन्छ,’ महासचिव सिंहले राजधानीसँग भने ।
संघीय समाजवादी फोरम नेपालको तिनकुनेस्थित पार्टी कार्यालयमा बसेको गठबन्धनको बैठकमा अगामी आन्दोलनको विषयमा छलफल गर्दै ६८ दलीय गठबन्धनसँग सहकार्य गरेर स्थानीय तहको निर्वाचन बिथोल्ने गरी आन्दोलन गर्ने निष्कर्ष निकालिएको गठबन्धन आबद्ध राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले बताए । झाका अनुसार मोर्चाले निर्वाचन बिथोल्नेसहित आन्दोलनको घोषणा आइतबार ९आज० गर्दै छ । यसका लागि गठबन्धनका शीर्ष नेताहरूको बैठक बोलाइएको छ ।
झाले संविधान संशोधन गरेर मधेसी मोर्चासहितको गठबन्धनको माग पूरा नगरी स्थानीय तहको निर्वाचन हुने भएकाले आन्दोलनका कार्यक्रम सशक्त हुने बताए । ‘बैठकमा आन्दोलनको कार्यक्रम कस्तो हुने भन्ने विषयमा छलफल भयो, आन्दोलनका कार्यक्रम सशक्त हुने निष्कर्ष हाम्रो छ,’ झाले भने, ‘हाम्रो माग पूरा नगरी हुने निर्वाचन हामी कुनै हालतमा हुन दिँदैनौं, बाबुरामजी नेतृत्वको ६८ दलीय गठबन्धनसँग सहकार्य गर्दै आन्दोलनका कार्यक्रम कडा बनाउनेछौं ।’ ६८ दलीय गठबन्धनसँग मिल्ने मुद्दामा सहकार्य गर्दै देशैभर संयुक्त आन्दोलन सशक्त रूपमा गरिने निर्णय गठबन्धनले गरेको उनले बताए ।
बैठकमा फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले संसद्मा दर्ता गराएको संविधान संशोधन विधेयक अधुरो र अपुरो रहेको बताउँदै आन्दोलनको विकल्प नरहेको बताए । कांग्रेस, माओवादी र एमालेले जनतालाई अधिकार दिन नचाहकाले आन्दोलनबाटै अधिकार प्राप्त गरिने उनी बताउँछन् ।
अबको आन्दोलन कस्तो हुने भन्ने विषयमा छलफल गर्न बसेको बैठकमा नेताहरूले स्थानीय तहको निर्वाचन कुनै हालतमा हुन नदिने धारणा राखेका छन् । राजधानीमा समाचार छ । ३१ वैशाखको निर्वाचन कुनै पनि बहानामा सार्न वा दुई चरणमा गर्न नहुने एमाले अडानबारे समीक्षा गर्दै गठबन्धनले निर्वाचन हुनै नदिने गरी आन्दोलन गर्ने निर्णय भएको गठबन्धनका नेताहरू बताउँछन् ।
अहिले दलीय चुनाव चिह्न पाउनुपर्ने माग गर्दै आन्दोलनलाई निरन्तरता दिँदै आएको नयाँ शक्ति पार्टी नेपालसहित ६८ दलीय गठबन्धनले मधेसी मोर्चासहितको गठबन्धनसँग सहकार्य गर्ने कि नगर्ने भन्ने विषयमा निर्णय गरेको छैन ।