काठमाडौं, जेठ २१ – प्रदूषित बन्दै गएको वाग्मतीमा हिउँदमा पनि पानी बगाएर सफा बनाउने अभियानअन्तर्गत पानी जमाउने दह (ड्याम) निर्माण सुरु भएको छ ।
अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले वर्षादमा गोकर्णेश्वर नगरपालिकाको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्रको धाप भन्ने स्थानमा पानी जमाएर हिउँदमा वाग्मती नदीमा बगाएर सफा बनाउने काम सुरु गरेको हो ।
समितिका अध्यक्ष किशोर शाक्य यो दह निर्माणपछि हिउँदमा चार सय लिटर प्रतिसेकेन्ड पानी वाग्मती नदीमा बगाउन सकिने बताउनुहुन्छ । प्रदूषित बन्दै गएको वाग्मतीलाई पानीको बहाव बढाएर सफा बनाउन लागिएको समितिले जनाएको छ ।
समितिका आयोजना प्रमुख राजेशप्रसाद सिंह २४ मिटर उचाइको ड्याम एसियाली विकास बैंकको सहयोगमा निर्माण गर्न लागिएको बताउनुहुन्छ । ‘बैंकको ५१ करोड रुपैयाँ अनुदान सहयोगमा ड्याम निर्माण सुरु भएको छ, विदेशी विशेषज्ञ परामर्शदाता रहेको ड्यामको ठेक्का गोन्जाओ लामा रमण निर्माण कम्पनीले पाएको छ’ उहाँले भन्नुभयो ।
वाग्मतीको सहायक नागमती नदीमा पनि ड्याम निर्माणको सम्भाव्यता अध्ययन सुरु भएको समितिले जनाएको छ । नागमतीमा ठूलो ड्याम बनाउने सम्बन्धमा अध्ययन सुरु भएको छ । रासस