दिपक बोहरा
तुलसीपुर,१३ चैत्र । राज्यले सीमा क्षेत्रका पिल्लर , नाकाबासी तथा नाकाको सुरक्षाका लागि नेपाली सीमा सुरक्षाकर्मीहरु नपठाएको स्थानियले गुनासो गरेका छन् । नेपाल-भारत सिमानाको दाङ क्षेत्रमा नेपाल तर्फको सुरक्षा पनि कम्जोर रहेको नाकाबासीहरुले गुनासो गरेका हुन् । भारती सीमा सुरक्षा निकायहरु नाका-नाकामा बलियो रुपमा प्रस्तुत भएपनि नेपाली सीमा सुरक्षाकर्मीहरु सिमामा तैनाथ नभएको स्थानिय अमृत खड्काले गुनासो गरे । नाका क्षेत्रको सुरक्षाका लागि लमहीको अर्जुन खोलामा शसस्त्र सीमा सुरक्षा कार्यालय स्थापन गरिएको छ । जुन नाका क्षेत्र भन्दा करिब ४० किलोमिटर टाढा पर्छ, जसले गर्दा प्रभाबकारी रुपमा सीमा क्षेत्रको सुरक्षा हुन सकेको छैन् ।
सीमा सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरी बल सीमानाका भन्दा ४० किलोमिटर टाढा बसेको भन्दै संसदमा चर्को आलोचना पनि भएको छ । संसदमा चैत्र ६ गते आइतबार बसेको बैठकमा विशेष समय लिएर मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका मुख्य सचेतक योगेन्द्र चौधरीले देउखुरीस्थित नेपाल–भारत सीमानामा जंगे पिलर भारतीय पक्षले नेपालतिर सारेको दाबी समेत गरेका थिए । सशस्त्र प्रहरीले आफ्नो जिम्मेवारी अनुसार काम नगरेको उनको भनाइ थियो । शसस्त्र प्रहरी ४० किलोमिटर टाढा बसेर सीमा सुरक्षा नहुने उनले बताए ।
नाका क्षेत्रको सुरक्षाको लागि शसस्त्रको एउटा कार्यालय कोईलाबासमा छ, तर त्यसले दाङका २६ वटा नाकाको सुरक्षा गर्न नसक्ने नाकाबासीहरुको गुनासो छ । केही नाकामा जनपथ पनि खटाईएको छ । भौसाही , डगमारा , खंग्रा , सिरिया , कोईलाबास र मुसीनाकामा जनपथ प्रहरीहरुको अस्थाई पोष्ट छ । तर सबै अस्थाई पोष्टहरुमा जम्मा २१/ २२ जना भन्दा बढि प्रहरी नभएको बताईएको छ । साथै अन्य १९ नाका र त्यहाँका बासिन्दा असुरक्षा छन् । सीमानाका तथा त्यहाँका नागरिकको सुरक्षाको लागि नेपाल सरकारले कुनै पनि पहल नथालेको स्थानियहरुको गुनासो छ । केही नाकामा भएका अस्थाई प्रहरी पोष्ट पनि साधान स्रोत युक्त छैनन् । प्रहरी पोष्ट नै असुरक्षित र जिर्ण अबस्थामा छन् । भारतीय सीमा सुरक्षा बल एसएसबीका २/३ किलोमिटरको दुरीमा २१ वटा सिमा सुरक्षा बल छन् तर नेपाली सुरक्षा बल भने एउटा मात्रै छ । त्यो पनि कोईलाबासमा । दाङका ६ गाबिस भारतसंग सिमाना जोडिएको छ । भारतको सरावस्ती र बलरामपुर जिल्लाले नेपालको दाङ जिल्लालाई छोएका छन् ।