दाङ, १३  चैत । नेपालका विभिन्न ११ जना साहित्यकारहरुले संयुक्त रुपमा लेखेको विश्वकै पहिलो संयुक्त महाकाव्यको विमोचन दाङमा गरिने भएको छ । दाङकी साहित्यकार बुनु लामिछाने लगायतले लेख्नुभएको महाकाव्य ‘जियालो’को विमोचन आगामी बैशाख २ गतेका दिन घोराहीमा गरिने भएको हो ।

purustom-2संयुक्त महाकाव्य विमोचन कार्यक्रम गर्नका लागि राप्ती साहित्य परिषदका केन्द्रीय अध्यक्ष पुरुषोत्तम खनालको अध्यक्षतामा शनिबार घोराहीमा बसेको बैठकले कार्यक्रमको तयारीका लागि विभिन्न निर्णयहरु गरेको छ । बैठकले कार्यक्रममा आउने साहित्यकारहरुको आवास, भोजन र यातायातको व्यवस्थापन गर्ने, कार्यक्रमका लागि आवश्यक पर्ने रकम व्यवस्थापनका लागि आर्थिक सहयोग जुटाउने, सवै प्रतिभाहरुलाई सम्मान गर्ने लगायतका निर्णय गरेको छ ।

बैठकले संयोजक पुरुषोत्तम खनालको संयोजकत्वमा आर्थिक समिति गठन गरेको छ भने सम्मान पत्र तयार पार्नका लागि उत्तमकृष्ण मजगैया र नारायण नेपाललाई जिम्मेवारी दिएको छ । महाकाव्य विमोचनका लागि नेपाल संस्कृत विश्व विद्यालयका उपकुलपति प्राध्यापक डा. कुलप्रसाद कोइरालालाई अनुरोध गर्ने निर्णय गरिएको कार्यक्रम तयारी समितिका सदस्य तथा प्रलेस दाङका अध्यक्ष शरद अधिकारीले जानकारी दिनुभयो ।

बैठकमा संयोजक खनालले विश्वमै पहिलो पटक संयुक्त रुपमा लेखिएको महाकाव्य विमोचनको अवसर दाङले पाउनु आफैमा ऐतिहासिक विषय भएकाले विमोचन कार्यक्रम गर्न थालिएको जानकारी गराउनुभएको थियो । महाकाव्यको विमोचन दाङमा गरेपछि नेपालका अन्य १० स्थानमा पनि समिक्षा कार्यक्रम आयोजना गरिएको बताइएको छ ।