काठमाडौं, ७ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल वुद्धको देश भएकाले सधै शान्तिको पक्षमा रहने बताएका छन् । आज काभ्रेको पाँचखालमा २८ देशको सैनिक सहभागी सयुक्त सैन्य अभ्यासको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
प्रम दाहालले विश्व शान्तिका लागि महत्वपूर्ण भूमिका खेल्दै आएको र आगामी दिनमा पनि त्यो भूमिकालाई निरन्तरता दिनेमा दुई मत नभएको बताए । संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा नेपालले उलेखनीय योगदान पु¥याएको स्मरण गर्दै उनले भने, ‘बृहत शान्ति प्रक्रियामार्फत नेपालले द्वन्द्व व्यवस्थापन गरेर नयाँ प्रयोग गरेको छ, यो विश्वमा शान्ति स्थापनाका लागि उद्यारणीय नमूना हो ।’
शान्ति र सुरक्षाको लागि युएनले चालेका कदममा नेपाल जस्तोसुकै परिस्थितीमा पनि साथ दिन तयार रहेको उनको बताए । ‘अभ्यास शान्ति प्रयास–३’ नाम दिइएको तालिममा विभिन्न देशका एक हजार २४ जना सेनाले भाग लिएका छन् । कार्यक्रममा अमेरिकी प्यासिफिक सैन्य कमाण्डका कमाण्डर जनरल ह्यारी बी. ह्यारिसले शान्ति कार्य स्थापनाका लागि नेपालसँग मनग्य ज्ञान, अनुभव र सीप रहेको बताए ।
सैन्य अभ्यासमा बंगलादेश, कम्बोडिया, इन्डोनेसिया, मलेसिया, मंगोलिया, फिलिपिन्स, श्रीलंका, भियतनाम, बोस्निया हर्गो्ज्निया, घाना, रुवान्डा, जोर्डन, काजकिस्तान, पाकिस्तान, पाराग्वे, फिजी, मेक्सिको र उरुग्वे सहभागी छन्। साथै, अस्ट्रेलिया, क्यानडा, जापान, न्यूजिल्यान्ड, दक्षिण कोरिया, बेलायत र अमेरिकी सैनिक समेत सहभागी छन् । सैन्य अभ्यास २१ चैत्रसम्म संचालन हुनेछ । सो अभ्यासको प्रशासनिक र प्रशिक्षण खर्च अमेरिकी सेनाले व्होर्नेछ ।
