काठमाडौं, ४ चैत । प्रहरीले नै म्यानपावर व्यवसायीलाई अपहरण गरी फिरौती लिएको खुलेको छ । व्यवसायीलाई अपहरण गरी फिरौती लिएको अभियोगमा प्रहरी नायव निरीक्षक (सई) सहित चार जना पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले सईद्वय सम्बत तामाङ र सूर्यबहादुर थापा तथा राजकुमार गुरुङ र अर्जुनकुमार लामालाई अपहरण गरी रकम लिएको अभियोगमा पक्राउ गरेको हो ।
सईद्वयले म्यानपावर व्यवसायी बद्री राईलाई गत १ माघमा अपहरण गरेर फिरौती असुल गरेको खुलेको महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेश अमात्यले बताए । ‘दुई महिनाअघिको घटनाको अनुसन्धान गर्दा हाम्रै प्रहरी पनि संलग्न रहेको खुलेपछि दुवैलाई पक्राउ गरिएको हो, थप अनुसन्धान भइरहेको छ,’ एसएसपी अमात्यले भने ।
दुवै जना सईले काभ्रेका अर्जुनकुमार लामा र नवलपरासीका राजकुमार गुरुङसँग मिलेर अपहरण गरेको खुलेको छ । फिरौती बुझाएपछि राईले अपराध महाशाखामा उजुरी गरेका थिए । राजकुमार गुरुङसहितका व्यक्तिले धुम्बाराहीमा म्यानपावरसम्बन्धी व्यवसाय गर्दै आएका धनकुटा छिन्ताङ–५ का बद्री राईलाई गत १ माघमा कोटेश्वरमा बोलाई अपहरण गरेका थिए । जबर्जस्ती अपहरण गरी सिनामंगलस्थित बाजेको सेकुवा कर्नर रहेको घरको कोठामा लगी बन्धक बनाएर डर त्रासमा पारी राईको साथमा रहेको नगद लुटेका थिए । उनीहरुले राईको साथबाट दुई लाख ३० हजार लुट्नुका साथै नविल बैंक र राष्ट्रिय वाणिज्य बैंकको दुई÷दुई वटा गरी चार वटा चेकमा २५ लाखका दरले एक करोडको चेकमा हस्ताक्षर गराएका थिए ।
प्रहरी नायब निरीक्षक तामाङ, गुरुङ र धीरज गुरुङ समेतको नाममा ती चेक काट्नुका साथै उनीहरुले ल्याएको तमसुक कागजमा पीडितबाट सहीछाप गराई अपहरणमुक्त गरेका थिए ।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा अवैध रुपमा ल्याइएको सुन लुटिएको र त्यसमा मेनपावर सञ्चालक राई निकट फुर्पा शेर्पाको हात रहेको सूचनाका आधारमा सईद्वयले भागबन्डा मिलाउन राईलाई अपहरण गरेको हुनसक्ने देखिएको छ । राजधानीमा खबर छ । प्रहरी नायव उपरीक्षक (डीएसपी) अजय केसीका अनुसार अपहरणकारीहरुले सुन लुटेरा शेर्पालाई भेटेपछि ५÷५ किलो सुन पाउने भन्दै राईलाई अपहरण गरेका थिए । व्यवसायी राईलाई उनीहरुले सो बराबरको कागज समेत गराएर छाडेका थिए ।
आफूहरु केन्द्रीय अनुसन्धान व्यूरोमा कार्यरत प्रहरी भएकाले सुन ल्याउन फूर्वा शेर्पालाई लुकाएको, त्यो नल्याउन्जेल नछाड्ने बताएपछि राईले बाध्य भएर आफूसँग भएको नगद र नविल र राष्ट्रिय वाणिज्य बैकको चेक दिएर उम्केका थिए ।
धुम्बाराहीमा टाइगर ओभरसिज म्यानपावर सञ्चालन गर्दै आएका राइलाई सम्बत तामाङ र अर्का एक व्यक्तिले फोन गरेर कोटेश्वरमा बोलाएका थिए । त्यसपछि उनीहरुले मोटरसाइकलमा चढाएर राईलाई एयरपोर्टस्थित बाजेको सेकुवा कर्नरमा लगेर ६ घण्टा बन्धक बनाएका थिए ।
