sabita gc
सबिता जिसी 

वर्षो देखिको एउटा ईच्छा, सल्यान जिल्लाको सुन्दर दह कुपिन्डे ताल (दह) मा जाउ, रहर पुग्ने गरी मजाले घुमौँ र केहि नयाँपन देखु । त्यो पनि पुरा भयो ।  वर्षोदेखि सुन्दै आएको एउटा नाम कुपिन्डे दह, जहाँ दिनानुदिन पर्यटकहरु बढिरहेका छन्, भन्दा मन लोभिरहेको थियो । म पनि कहिले त्यहाँ जाउ र अवलोकन गरु भन्ने उत्सुकता लागिरहेको थियो । संयोगले कुपिन्डे दहमा जाने मौका पयो । ठूलाठूला भिर, निश्चल रुपमा बग्ने खोलाको तिरैतिर हुदैँ सल्यानको कुपिन्डेदह सम्म पुग्दा बिच बाटोको थकाई हराउन सहयोग गर्ने कुपिन्डे दहको सुन्दरता । साच्चिमै कति सुन्दर छ, कुपिन्डे दह । कुपिन्डे दहमा पुग्ने वित्तिकै आहा नभनि बस्नै सकिन्न ।

कच्ची सडक, भिरपाखाको बाटो हुँदै तालसम्म पुग्दा, जैविक विविधता र प्राकृतिक सुन्दरताले भरीएको कुपिन्डे दहको सुन्दरतामा खोट लगाउने कुनै पनि विषय छैन । भिरपाखाको बाटो, कच्ची सडक भएपनि कुपिन्डे दहसम्म पुग्नका लागि हिड्नुपर्ने बाध्यता नहुनु दहसम्म पुग्ने पर्यटकहरुका लागि उत्साह र फेरी पनि जाउ भन्ने एउटा बाहाना हो । तालसम्म पुग्नका लागि हिड्नुपर्ने बाध्यतालाई अन्त्य गर्दै निर्माण गरिएको कच्ची बाटो जसले गर्दा कुपिन्डे ताल हेर्नका लागि आउने पर्यटकहरुको संंख्यामा दिन प्रतिदिन उत्साहजनक रुपमा वृद्धि हुने अर्को आधार हो ।

17342310_1826926390966583_574640246_oस्वच्छ, सफा र निर्मल पानीले भरिएको कुन्पिडे दहमा एकैछिन बस्दा पनि मनमा आनन्द मिल्छ । मौसम अनुसार रङ फेरीरहने कुपिन्डे दह घना जङ्गलको बिचमा पर्यटक कुरेर बसिरहेको छ । प्राकृतिक सौन्दर्यले भरिएका डाँडाँकाडा, डाँडाँको बिचमा साल र चिउरीका झम्म परेका रुख अनि तालमा निलो आकाशे रङ्गको पानी देख्नासाथ जतिनै पीरले भरिएको मन पनि शितल भएर आउँछ ।

17357085_1826926350966587_682385309_oएक वर्षमा ३ पटक पानीको रङ्ग बदल्ने कुपिण्डे दहको सुन्दरतामा हरियाली रुख विरुवाले झनै सहयोग पुयाएको छ । २३.५३ हेक्टर क्षेत्रफलमा फैलिएको कुपिन्डे दहको दहको लम्बाइ ८ सय ३४ मिटर र चौडाइ ५ सय ३८ मिटर रहेको र समुन्द्री सतहदेखि ११ सय २० मिटर उचाइमा रहेको छ । तालमा आउने पर्यटकहरुका लागि डुङ्गामा सवार हुने व्यवस्था, यहाँको अर्को महत्वपूर्ण विशेषता हो । तालमा डुंगा सवार हुने सुविधाले पनि कुपिन्डे तालको सौन्दर्यको साथै पर्यटकको संख्यामा वृद्धिका लागि थप मदत पुगीरहेको छ ।

प्रकृतिसँग रमाउन चाहानेहरुका लागि एउटा राम्रो गन्तव्य भनेको, सल्यानको कुपिन्डे दह नै हो । निश्चल रुपमा बगिरहेको तालमा डुंगा चढेर आनन्द लिनु सबैका लागि एउटा खुसीको पल हुन्छ, र डुंगा चढेर आनन्द लिन चाहानेहरुका लागि कुपिन्डे दह एकदमै उपयुक्त छ । चारैतिर पहाडले घेरिएको र बीचमा नीलो पानीले भरिएको कुपिण्डे दहले त्यहाँ पुग्ने जो कोहीलाई पनि मोहित बनाएकै हुन्छ । वरिपरि मिलेका पहाड, हरियो जंगल र बीचमा नीलो आकाशझैं उत्तर दक्षिण फैलिएको दह साँच्चिकै प्राकृतिक सौन्दर्यताले भरिपूर्ण छ । त्यसैले गर्दा ग्रामीण पर्यटनका लागि गन्तव्य बनेको छ कुपिन्डे दह । दहमा आएर डुङ्गामा सयर गरेर घुम्न पाउँदा एउटा फरक छुट्टै आनन्द महसुस हुन्छ ।

17357307_1826929130966309_2038420143_oकुपिन्डे दह भ्रमणका लागि पुग्ने पर्यटकहरुलाई सबैभन्दा सास्ती भनेको, त्यहाँ टेलिफोन सुविधा नहुनु, बिजुली बत्ति, इन्टरनेट लगायत खानबस्नका लागि प्रर्याप्त होटल लगायतका पुर्वाधार नहुनु एकदमै ठूलो समस्या हो । यी अत्यावशकिय पुर्वाधारहरु नहुँदा उत्साहित भएर कुपिन्डे दह आईपुग्ने कतिपय आन्तरीक तथा बाह्य पर्यटकहरुको आशा कताकता निराशामा बदलिने सम्भावना पनि छ ।

बाह्रै महिना पर्यटकहरुको घुइँचो लाग्ने कुपिन्डे दहमा हिउँद होस् वा बर्षा कुनै पनि समयमा सुन्दरताले कमि पाउने अवस्था छैन । ताल हेर्ने पर्यटकहरुको घुइँचो तर खाजाका लागि कुनै पनि होटेलहरुको व्यवस्था नहुँदा पर्यटकहरुलाई असहजता छ ।

kupindedahaताल परिसरमा होटेलहरु नहुँदा तालबाट १६ किलोमीटर टाढा रहेको बालुवा सग्रही बजार आउनु पर्ने बाध्यता छ । यो बाध्यताले पर्यटकलाई सास्ती सिर्जना भएको छ । किम्बदन्ती अनुसार ठूलो गाउँमा एक दिन बासको खोजि आएका एक व्यक्ति साधु भेषमा थिए । धेरैका घरमा समेत बास समेत नपाईदा निरास भएका भिक्षु एकजना वृद्धको घरमा पुगेर आफु बासका लागि आपूm आएको सुनाएछन् । ति वृद्ध गरिब घरमा रहेकी वृद्ध महिलाले आफ्नो घरमा खाना र बस्न दिन नसक्ने बताएपछि भिक्षुले वृद्धको गरिबी थाहा पाएर वृद्ध महिलालाई भनेछन्, बास बस्न नदिने यो गाउँका पापीहरुलाई म डुबाइदिन्छु ।

17357720_1826926307633258_235308193_oर ति भिक्षुले थपेछन्, तिमि पहाडतिर जाउ तर पछाडि नफर्किएर जाउ भनेर भन्दा ति वृद्ध महिला पहाडको चुचुरोमा पुगेर पछाडि फर्किदा सबै गाउँ जति पानीले भरिएको भन्ने त्यहाँका स्थानीयहरुले सुनाय । दहको किनारमा बराहको मन्दिर । सल्यानबाट मात्रै नभएर बराह मन्दिरमा पूजा गर्न मध्यपश्चिमका रुकुम, सुर्खेत र जाजरकोट लगायत जिल्लाका मानिसहरु त्यहाँ पुग्दा रहेछन् ।

17311555_1826926500966572_910876706_oकुपिन्डे तालको प्राकृतिक सुन्दरतालाई संरक्षण र संर्वद्धन गर्नु यस क्षेत्रका लागि अत्यावश्यक विषय छ भने, सबैले सोच्नुपर्ने अर्को विषय हो, कुपिन्डे दह परिसरमा सुविधा सम्पन्न होटेल तथा लजको सञ्चालन गर्नु । सल्यान जिल्लाको कुपिण्डे दह जस्ता सबै तालहरुको संरक्षणका लागि राज्यले नीति तय गर्नु एकदमै आवश्यक छ । सम्पदा र धार्मिक महत्व बोकेका पर्यटकिय स्थलहरुहरुलाई संरक्षण गर्दै ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्व जोगाईराख्नु सिंगो सरकारको मात्रै नभएर तपाई हामि सबैको हुनेछ ।