दाङ, २ चैत्र । यहि चैत्र ५, ६ र ७ गते दाङमा हात्तिपाईले रोग विरुद्धको औषधी खुवाईने भएको छ । हात्तिपाईले रोगको जोखिम कम नभएकाले जिल्ला जनस्वास्थ्य कार्यालय दाङले राष्ट्रिय कार्यक्रम अन्र्तगत यहि चैत्र ५, ६ र ७ गते औषधी खुवाउने अभियान सुरु गर्दैछ । पहिलो दिन टोलटोलका बुथ सेन्टरहरुमा गएर औषधी खाने, दोस्रो दिन घरघरमा स्वास्थ्य स्वयम सेविकाहरु पुगेर औषधी खुवाउने र छुटेकाहरुलाई तेस्रो दिन खुवाउने गरी कार्यक्रम बनाईएको छ ।

medicineजिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार यो सातौँ चरणको कार्यक्रम हो । छैठौ चरण सम्म औषधी खुवाए अभियान पुरा हुने भए पनि दाङमा यस अगाडीका कार्यक्रमहरुमा औषधी खानेहरुको संख्या कम भएकाले सातौ चरणमा औषधी खुवाउने कार्यक्रम राखिएको कार्यालयले बताएको छ । दाङमा ६ लाख ११ हजार ३ सय २७ जनालाई औषधी खुवाउने लक्ष्य रहेको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख घनश्याम पोख्रेलले जानकारी दिनुभयो । त्यसको लागि २ हजार ३ सय बढि स्वास्थ्य स्वयम् सेवकहरुलाई परिचालन गर्न थालेको उहाको भनाई थियो ।

जिल्ला जनस्वास्थ्य कार्यालयले जिल्लास्थित राजनितीक दलका प्रतिनिधि, सरकारी कार्यालयका प्रतिनिधि र विभिन्न सामाजिक संघसस्थाहरुलाई अभियानको बारेमा जानकारी दिने उदेश्यले आयोजना गरेको कार्यक्रममा प्रमुख पोख्रेलले विगतका अभियानहरुले उदेश्य पुरा नगरेकोले फेरी औषधी खुवाउने अभियान सुरु गर्न थालेको बताउनुभयो । देशका ६१ वटा जिल्लाहरु प्रत्यक्ष रुपमा हात्तिपाईले रोगको जोखिममा रहेको र दाङमा १२ प्रतिशत मानिसहरुमा हात्तिपाईले रोग फैलाउने परजिविको सक्रमण देखिएको कार्यालयले अनुमान गरेको छ ।

गत वर्षमा ५९ प्रतिशतले औषधी खुवाएको तथ्यांक कागजमा भए पनि एकिन रुपमा ३६ प्रतिशतले मात्र औषधी खाएको देखिन आएको कार्यालयले बताएको छ । अभियानको उदेश्य पुरा गर्नको लागि हात्तिपाईलेको परजिविको सक्रमण भएका व्यक्तिहरुको संख्या २ प्रतिशत मात्र हुनु पर्ने भएकाले त्यो उदेश्य पुरा गर्न दाङलाई चुनौती रहेको कार्यालयका कमल चन्दले बताउनुभयो ।

हात्तिपाईले रोग विरुद्धको औषधी खाए ज्यानै जान सक्ने भन्ने भ्रामक खबरहरु फैलिएकाले धेरैले यो औषधी खानबाट छुटेको कार्यालयले बताएको छ । औषधी खाए केहि नहुने बरु नखाए हात्तिपाईले रोगको सक्रमणको जोखिममा पर्ने भएकाले सबैले यो औषधी खान जिल्ला जनस्वास्थ्य कार्यालयले बताएको छ । तर दुई वर्ष नपुगेको बालबालिका, गर्भवति आमाहरु र ७ दिन सम्मका सुत्केरी आमाहरुले यो औषधी नखान कार्यालयले बताएको छ । यस्तै सिकिस्त विरामीहरु दैनिक क्रियाकपाल गर्न नसक्ने, ओछ्यानमा परेको, कलेजो, मृगौला, फोक्सोको दिर्घ रोगीहरुले औषधी सेवन गर्न नहुने कार्यालय प्रमुख पोख्रेलले बताउनुभयो ।