काठमाडौं, ३० फागुन । राप्रपा सरकारमा गएको सातादिन नवित्दै स्थानीय विकास मन्त्रालय र पर्यटन मन्त्रालयमा रहेका दुई राज्यमन्त्रीको जिम्मेवारीमा हेरफेर गरिएको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा राज्यमन्त्रीको जिम्मेवारीमा रहेका काङ्ग्रेस राज्यमन्त्री इन्द्र बाँनियाले गृहराज्यमन्त्रीको जिम्मेवारी पाएका छन् ।
यसअघि काङ्ग्रेस कोटामा रहेको पर्यटन मन्त्रालय राप्रपाको भागमा परेपछि राज्यमन्त्री बाँनियाले नयाँ जिम्मेवारी पाएका हुन् । राप्रपा अध्यक्ष कमल थापा उपप्रधान एवम् सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री र पर्यटन मन्त्रालय लिएर सरकारमा सामेल भएका थिए ।
गृहमन्त्री विमलेन्द्र निधी तीन दिने भारत भ्रमणमा जान लागेकाले उनले बानियाँलाई गृहराज्यमन्त्रीका रुपमा प्रधानमन्त्री पुष्पकमल दाहाल सामु प्रस्ताव गरेका हुन् ।
यस्तै, स्थानीय विकास मन्त्रालयमा राज्यमन्त्री रहेका श्रीप्रसाद जबेगुलाई पशुपंक्षी मन्त्रालयको जिम्मा दिइएको प्रधानमन्त्री कार्यालय स्रोतले बताएको छ । माओवादी कोटामा रहेको स्थानीय विकास मन्त्रालयमा राप्रपा अध्यक्ष थापा आएपछि विना विभागीय राज्यमन्त्री बनेका जबेगुलाई नयाँ मन्त्रालयको राज्यमन्त्रीका रुपमा जिम्मा दिईएको हो ।
