काठमाडौँ । चित्रकला, मूर्तिकला, सङ्गीत, गायन, नृत्य, अभिनय लगायत कलाका प्रायः सबै विधामा पोख्त कलाङ अर्थात् नारद हार्तम्छाली दोस्रो कविताकृति लिएर आएका छन् । ‘साम्बुङ’ नामक उनको कृति राजधानीमा आयोजित कार्यक्रममा सार्वजनिक गरियो । नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा मातृभाषा साहित्य विभाग प्रमुख श्रवण मुकारुङ, प्रतिष्ठानका प्राज्ञ सभा सदस्य एवम् नेपाली वाङ्मय परिषद्का अध्यक्ष शशी लुमुम्बू, समालोचक डा. धनप्रसाद सुवेदी, साहित्यकार निर्भीक राईका साथै कृतिकार स्वयम्ले ‘साम्बुङ’ सार्वजनिक गरेका हुन् ।

sambung bimochan 1 नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्यसमेत रहेका कवि कलाङको कविताकृतिमाथि बोल्दै प्राज्ञ मुकारुङले भने, ‘कलाङका कवितामा मुलुकको पूर्वी भूगोल, समाज र संस्कृति सघन रूपमा आएका छन् ।’ उनले थपे, ‘कलाका प्रायः सबै विधामा सिर्जनारत उनी कविता विधामा पनि अब्बल देखिएका छन् ।’

sambung bimochan2कार्यक्रमका सभाध्यक्ष शशी लुमुम्बूले विमोचित कविताकृतिमाथि आफ्नो धारणा राख्ने क्रममा भने, ‘यो कविताकृति पढ्दा लाग्छ कि, कलाङ जीवन र जगतका लागि सार्थक सिर्जनाहरू सिर्जना गर्ने जनकवि हुन् ।’

sambung bimochan3समालोचक डा. धनप्रसाद सुवेदीले कलाङका रचनाहरू सार्वकालीन रहेको विचार व्यक्त गर्दै उनको कवितामा न्याय र समानताको वकालत गरिएको पाइएको बताए । साहित्यकार निर्भीक राईले ‘स्वतन्त्रता र समानताका पक्षपाती कलाङ चित्र र मूर्तिकलामै समर्पित भएमा सम्बन्धित विधाले उल्लेख्य उपलब्धि पाउने’ धारणा राखे ।

sambung‘चित्र र मूर्ति बनाउन विशेष स्थान र सामानहरूको जरुरी पर्छ, त्यस्तो अवस्था प्रतिकूल हुँदाका अनुभूतिहरूलाई मैले कवितामा उतार्ने प्रयास गरेको हुँ’ कवि कलाङले आफ्नो रचनाकर्मबारे प्रस्ट्याए । कविताकृतिभित्र वि.सं. २०५७ यता रचिएका ४२ वटा कविता समावेश छन् ।

कार्यक्रममा कविहरू राजु स्याङ्तान, चन्द्र रानाहँछा, अञ्जना राई र मङ्गल बाडेले विमोचित कृतिभित्रको एक–एक कविता वाचन गरेका थिए भने गायक उदिम राईले कलाङकै शब्द र सङ्गीत रहेको एउटा गीत गाएर सुनाएका थिए । कार्यक्रम नेपाली वाङ्मय परिषद्ले आयोजना गरेको थियो ।