जुम्ला, २८ फागुन । उच्च हिमाली भेगमा भारी मात्रामा हिमपात भएको छ । बिहीबार बिहानैदेखि जुम्लामा परेको पानीले डाँडाकाँडामा हिमपात भए पनि शुक्रबार भने, जुम्ला उपत्यकासहित सबैजसो स्थानमा बिहानैदेखि लगातारको हिमपात भएको छ ।

timthumbलगातारको हिमपातले जिल्लाको जनजीवन निकै प्रभावित भएको छ । हिउँ परेपछि सरकारी कार्यालयहरू प्रभावित भएका छन् । यसैगरी विद्यालयहरूमा बालबालिका आउन नसकेपछि पठनपाठन प्रभावित बन्न पुग्यो । हिमपातले कर्णाली राजमार्गमा चल्ने छोटो तथा लामो दूरीका गाडीहरू सञ्चालन हुन सकिरहेका छैनन् । हिउँ परिरहेकै कारण बिहीबारदेखि नेपालगन्ज तथा सुर्खेतबाट हुने उडान सेवा सबै रद्द भएका छन् ।

 यसैगरी हिउँ परेका कारण मरेका मानिसहरूको मलामी जान तथा दाहसंस्कार गर्नसमेत हम्मेहम्मे भएको थियो ।
लामो समयसम्म खडेरी भएको जुम्लामा पानी परेपछि किसानहरू खुसीसमेत भएका छन् । यो हिउँले कृषि बालीलाई राम्रो गर्ने भन्दै दङ्ग परेका छन् । जुम्लामा शुक्रबार न्यूनतम तापक्रम ०।४ डिग्री सेल्सियस र वर्षा ५।८ मिलिमिटर रहेको हावापानी कार्यालय जुम्लाका प्रमुख एपी चौरसियाले बताउनुभयो ।

यसैगरी मुगु समाचारदाताका अनुसार हिउँ पर्ने महिना सकिएर चैत महिना लाग्नै लाग्दा पनि हिउँ नपरेपछि चिन्तित बनेका यहाँका कृषकहरू खुसी भएका छन् । पुसबाट प्रायः तीन पटकसम्म हिउँ पर्नेजस्तो मौसम भए पनि आवश्यक मात्रामा पानी र हिउँ नपर्दा कृषकहरू खेत गरामा लगाएका हिउँदेबाली उत्पादन नहुने भयो र सुक्खा मौसमले रुघा, खोकी तथा मौसमजन्य रोगबाट पीडित हुने भन्दै चिन्तित भएका थिए । तर, तीन दिन यताबाट मौसममा परिवर्तन आई हिमाली क्षेत्रहरूमा हिउँ र बेसीतिर लगातार पानी पर्न थालेपछि भने कृषकहरू खुसी भएका हुन् ।

मौसम बिग्रिएकाले मुगु जिल्लास्थित रारा विमानस्थलमा उडान हुन सकेको छैन । मुगु आउने र जिल्लाबाट बाहिरिने यात्रुहरू विमानस्थलमा अलपत्र परेका छन् । मुगु जिल्लामा सरुवा भएर आउन लाग्नुभएका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेल तीन दिन यताबाट हवाई उडान नहुँदा बाँकेस्थित राँझा विमानस्थलमै आकाश खुल्ने प्रतीक्षामा रहनुभएको सहायक प्रमुख जिल्ला अधिकारी मोहन केसीले बताउनुभयो ।

घुच्ची लेकमा हिउँ परेकाले र लगातारको पानीले नाग्म–गमगढी कच्ची सडकखण्ड हिलाम्य भएकाले मुगु आउने मालवाहक गाडी र यात्रुवाहक बस पनि बीच बाटोमै अलपत्र परेका छन् ।

उच्च क्षेत्रहरू, डोल्फु, मह, पाँपु, तल्लेख, सोभा, बाम, ताल्च, पिना, टोप्ला लगायतमा भारी हिमपात भएको छ । सदरमुकाम गमगढीमा लगातार पानी परे पनि ३० मिनेट सिरानमा रहेको माथितुम र एक घण्टा दूरीमा रहेको रारा विमानस्थलमा बाक्लो हिउँ जमेको छ ।
सदरमुकामस्थित गमगढी हावापानी केन्द्रका अनुसार तीन दिनअघि अधिकतम २२ डिग्री सेन्टिग्रेड पुगेको सदरमुकामको तापक्रम  बुधबारको बदली र बिहीबारको सामान्य वर्षा अनि शुक्रबारको लगातारको वर्षाले झर्न गई ८ डिग्री सेन्टिगे्रडमा पुगेको छ । शुक्रबार दिउँसो ४ बजे सदरमुकाम गमगढीमा १५ मिलिलिटर पानी परेको छ ।
यसैगरी राससका अनुसार डोल्पामा शुक्रबार बिहानैदेखि हिमपात सुरु भएको छ । गत बुधबारदेखिको लगातार वर्षापछि जिल्लाभर हिमपात सुरु भएको हो। वर्षासँगैको भारी हिमपातले बढेको अत्यधिक चिसोका कारण डोल्पालीको दैनिकी कष्टकर बनेको छ । डोल्पामा हिमपात अहिले पनि जारी छ। झन्डै तीन महिनाको चरम खडेरीपछि परेको वर्षासँगैको भारी हिमपातले कृषिजन्य उत्पादनमा वृद्धि हुने आशामा डोल्पाली कृषकमा उत्साह छाएको छ ।

वर्षा र हिमपातले यस वर्षको कृषिजन्य उत्पादनमा समेत वृद्धि हुने भन्दै उनीहरूमा उत्साह छाएको हो । त्रिपुराकोट–२ का कृषक भीमप्रसाद देवकोटाका अनुसार लम्बिँदो खडेरीले खेतबारीका अन्नबाली सुक्न थालेको थियो। “खाद्यवस्तु उत्पादन घट्ने भन्दै किसान चिन्तित भएका थिए तर ढिलै भए पनि वर्षा भएको छ, यसबाट गरिखाने कृषकलाई केही भए पनि राहत भयो”, उहाँले भन्नुभयो। गोरखापत्रबाट