दाङ, २७ फागुन । दाङमा पछिल्लो समयमा व्यावसायिक माछापालन बढ्दै गएको छ । व्यावसायिक माछापालनमा कृषकको आकर्षण बढेसँगै यसमा लगानी पनि बढ्दै गएको छ ।
जिल्लाको माछापालनका क्षेत्रमा ३ करोड रुपैया भन्दा बढी लगानी भएको छ । माछापालनमा सरकारी अनुदानसँगै यो व्यवसायबाट राम्रो आम्दानी गर्न सकिने भएकाले यस क्षेत्रमा लगानी बढ्दै गएको हो ।
घरेलु तथा साना उद्योग कार्यालय दाङका अनुसार यस आर्थिक वर्षको ६ महीनामा १८ ओटा माछा फार्म ९उद्योग० दर्ता भएको छ । फार्ममा ३ करोड ९ लाख ४३ हजार ६ सय रुपैयाँ लगानी भएको घरेलु तथा साना उद्योग कार्यालय दाङका उद्योग प्रशासन प्रमुख वामदेव शर्माले जानकरी दिए । यी फार्ममा ६३ जनाले रोजगारी पाएको उनले बताए ।
‘दाङमा पछिल्लो समयमा माछापालनतर्फ कृषकको आकर्षण बढेको छ,’ शर्माले भने, ‘कृषकले राम्रो आम्दानी गर्ने भएकाले पनि आकर्षण बढेको हुन सक्छ ।’
यस वर्ष दाङमा १ सय ५० हेक्टर क्षेत्रफलमा माछा पोखरी निर्माण गरिने भएको छ । माछामा जिल्लाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ जिल्लाको देउखुरीलगायत विभिन्न क्षेत्रमा माछापोखरी विस्तार गर्न लागिएको जिल्ला कृषि विकास कार्यालय दाङले जानकारी दिएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत जिल्लाको देउखुरी क्षेत्रमा ९० हेक्टर क्षेत्रफलमा माछा पोखरी विस्तार गर्न लागिएको मत्स्य विकास अधिकृत सुरेन्द्रकुमार भुजले जानकारी दिए । त्यस्तै, मत्स्य विकास निर्देशनालय जनकपुरको सहयोगमा थप १० हेक्टर क्षेत्रफलमा नयाँ पोखरी विस्तार गर्न लागिएको छ ।
कृषि विकास कार्यालय दाङको तथ्याङ्कअनुसार हालसम्म जिल्लामा एक सय ८३ हेक्टर क्षेत्रफलमा माछापालन हुँदै आएको छ, जसमा ८ सय ६८ दशमलव ५ मेट्रिक टन माछा उत्पादन हुँदै आएको छ । जिल्लामा अझै वार्षिक करीब ३ हजार २ सय ७६ मेट्रिक टन माछा जिल्ला बाहिरबाट आयात हुने गरेको छ ।
उदय बीसी /अभियान
