राजविराज, २५ फागुन । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता कार्यकर्ता र व्यापारीबीच वीरगञ्जको घन्टाघर चोकमा झडप भएको छ। मधेसी मोर्चाका नेता कार्यकर्ताले बजार बन्द गराउने क्रममा व्यापारीमाथि हातपात गरेपछि व्यापारीले प्रतिकार गरेका हुन् ।
बजार बन्द गराउने क्रममा आन्दोलनकारीले वीरगञ्जको मिना बजारमा रहेका किराना पसल सञ्चालकलाई कुटपिट गरेपछि सोको विरोधमा व्यापारी एकजुट भई आन्दोलनकारीको प्रतिकार गरेका हुन्।
व्यापारी र आन्दोलनकारीबीचको झडपका कारण वीरगन्जको घण्टाघर क्षेत्र तनाबग्रस्त बनेको छ। व्यापारीले गरेको प्रतिकारमा परी राष्ट्रिय मधेस समाजवादी पार्टीका पर्सा जिल्ला अध्यक्ष प्रेमबाबु पटेल समान्य घाइते भएका छन्।
व्यापारी र आन्दोलनकारीबीचको भिडन्तलाई रोक्न स्थानीय प्रशासनले वीरगन्जको घण्टाघर चोकमा भारी सङ्ख्यामा सुरक्षाकर्मी परिचालित गरेको छ। मोर्चाले आह्वान गरेको दुईदिने मधेस बन्दको आज दोस्रो दिन वीरगन्जमा रहेको बजार, उद्योग, वित्तीय संस्था शैक्षिक संस्था, सवारी साधन सञ्चालनमा आएका छैनन्।
वीरगन्जबाट मुलुकको विभिन्न स्थानका लागि सञ्चालन हुने लामो तथा छोटो दुरीका सवारीसाधन सञ्चालनमा नआउँदा सेवाग्राही मारमा परेका छन्। रासस
