घोराही, २५ फागुन । राप्ती अञ्चलको एकमात्र ग्यास उत्पादक कम्पनी राप्ती ग्यास उद्योग प्रालिले ४ करोड रुपैयाँ लगानी थप गरेको छ । उद्योगले यसअघि २४ करोड रुपैयाँ लगानी गरिसकेको छ । थप लगानीसहित अब उद्योगको कुल लगानी २८ करोड पुगेको उद्योगका सञ्चालक खड्क बुढाथोकीले बताए ।
उद्योगले उत्पादन क्षमता बढाएकाले लगानी थप्नुपरेको बुढाथोकीले जानकारी दिए । उनका अनुसार उद्योगले २५ हजार सिलिण्डर थप गरेको छ । यसअघि उद्योगमा ५५ हजार ग्यासका सिलिण्डर थिए । थपिएकासहित राप्ती ग्यासका सिलिण्डरको सङ्ख्या ८० हजार पुगेको छ । उद्योगले हाल राप्तीका दाङ, रोल्पा, रुकुम, सल्यान, प्यूठानसहित बाँके, बर्दिया, कैलाली, सुर्खेत, कपिलवस्तु र रुपन्देहीमा विक्री गरिरहेको छ । राप्ती अञ्चलमा मात्र उद्योगले ५० प्रतिशत बजार हिस्सा ओगटेको बुढाथोकीले जानकारी दिए ।
राप्तीमा हाल मासिक २५ हजार सिलिण्डर खपत भइरहेको छ । बाँकी सिलिण्डर नेपालगञ्जको भेरी र मनकामना ग्यास तथा बुटवलको सिद्र्धाथ ग्यास उद्योगबाट विक्री भइरहेको छ । निगमले स्वीकृति दिएमा उद्योगले दैनिक ३ हजार ४ सय सिलिण्डर उत्पादन गर्न सक्ने बुढाथोकीले बताए । ‘उद्योगको क्षमता बढी भए पनि निगमले स्वीकृति नदिँदा निर्धारित कोटाअनुसार नै सिलिण्डर उत्पादन भइरहेको छ,’ उनले भने, ‘सिलिण्डर सङ्ख्या वृद्धिसँगै बजार विस्तारसमेत बढाउने उद्योगको योजना छ ।’ आर्थिक अभियानबाट
