काठमाडौं, २४ फागुन । सप्तरी गोलीकाण्डपछि सोमबार साँझ आकस्मिक बैठक बोलाएर सरकारलाई दिएको समर्थन फिर्ता लिने समझदारीमा पुगेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिन सात दिने अल्टिमेटम दिएको छ।

morchhaसप्तरी घटनापछि कांग्रेस–माओवादी गठबन्धन सरकारलाई दिएको समर्थन फिर्ता लिन तयारी गरेको मोर्चा एकाएक लचिलो बन्दै समर्थन फिर्ता लिनबाट पछि हटेको हो। सभामुखलाई लिखित औपचारिक जानकारी तयारी स्वरुप आज मंगलबार ३ बजे बैठक राखिएको थियो। यद्यपी मोर्चाले जारी गरेको विज्ञप्तीमा सरकारलाई समर्थन फिर्ता लिएको बारेमा कुनै उल्लेख छैन ।

मंगलबार बिहानै प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्डसँग तमलोपा अध्यक्ष महन्थ ठाकुरले टेलिफोन संवाद गरेपछि मोर्चाका नेताहरुले ३ बजे प्रम दाहाललाई भेटेपछि समर्थन फिर्ता लिनबाट मोर्चा पछि हटेको जनाइएको छ। ‘संविधान संशोधन विधेयक पास गर्न र गैरसंवैधानिक चुनाव घोषणा फिर्ता लिन ७ दिने अल्टिमेटम दिएका छौं,’ राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले भने।

मोर्चाले सप्तरी घटनाको विरोधमा आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । २६ गते देशभर प्रदर्शन गर्ने र २७ गते नेपाल बन्द गर्ने निर्णय गरेको छ। सप्तरी घटनाबारे मानवअधिकार आयोग र राष्ट्रसंघको ध्यानाकर्षण गराउन र अन्तराष्ट्रिय समुदायसँग छलफल गर्ने निर्णय समेत मोर्चाले गरेको छ।