इन्द्रेणी संवाददाता
दाङ, १९ जेठ
निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन आज हुँदै छ । बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म चल्ने निर्वाचनमा दलगत युनियनहरु चुनावि प्रतिश्पर्धामा छन् ।सरकारले आज निजामती कर्मचारीका लागि सार्वजनिक विदा दिएको छ ।
नेपालमा पहिलो पटक हुन लागेको आधिकारिक ट्रेड यूनियनको निर्वाचनका लागी दाङमा एउटा मात्रै मतदान केन्द्र निर्धारण गरिएको छ । घोराही नगरपालिकाको कार्यालयमा विहान ९ वजेदेखि मतदान शुरु हुने वताइएको छ । जिल्लामा करिव नौं सय मतदाता छन् ।
नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, मधेशवादी दलहरु संग आस्थावान लगाएतका दलहरु निकट मानिने कर्मचारीका संगसंगठनहरु विच प्रतिपर्धा हुने छ । निर्वाचनका लागि ७५ जिल्ला र ४२ विभाग गरी १ सय १७ स्थानमा १ सय २९ मतदान केन्द्र तोकिएको छ भने निर्वाचनमा एक हजार ६ सय ३ कर्मचारी र एक हजार २ सय १५ सुरक्षाकर्मी खटिनेछन् ।
कार्यालयको प्रमुख नरहेका शाखा अधिकृत र सो भन्दा तल्लो तहका ५५ हजार ३ सय २९ निजामती कर्मचारीले निर्वाचनमा भाग लिँदैछन् । निर्वाचनमा व्यक्तिभन्दा पनि संगठनले भाग लिने व्यवस्था गरिएको छ । निर्वाचनमा सबैभन्दा बढी मत ल्याउने संगठनले अध्यक्ष र कोषाध्यक्ष, दोस्रो बढी मत ल्याउने संगठनले महासचिव, तेस्रो हुनेले उपाध्यक्ष र चौथो हुनेले सचिव पाउने व्यवस्था छ ।
केन्द्रका हकमा १६ जना सदस्य हुने व्यवस्था गरिएकोमा १० प्रतिशतभन्दा बढी मत ल्याउने संगठनमा भाग लगाएर सदस्यहरुको बाँडफाँट गरिनेछ ।