काठमाडौँ, १६ फागुन। निर्वाचन आयोगले २०७४ वैशाख ३१ गते आइतबार हुने स्थानीय तह निर्वाचनका लागि तीन दिनभित्र दल दर्ता गर्न समय दिएको छ ।

electionआयोगको कान्तिपथ, काठमाडौँमा फागुन १८ गतेभित्र दलहरूले दलीय विवरण बुझाउनुपर्नेछ । नबुझाउने दलहरूले स्थानीय तह निर्वाचनमा भाग लिन नपाउने आयोगले जनाएको छ ।

आयोगका प्रमुख आयुक्त डा। अयोधीप्रसाद यादवको अध्यक्षतामा आइतबार बसेको आयोग बैठकले दल दर्ताका लागि दलहरूलाई सूचित गर्ने निर्णय गरेको छ । अब दर्ता हुने दलहरूलाई ‘नेपालको संविधानको धारा २७१ बमोजिम स्थानीय तहको निर्वाचन प्रयोजनका लागि दर्ता भएको मानिनेछ । ’

आयोगका सहसचिव एवं प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार यसअघि आयोगमा दर्ता भएका दलहरू र जिल्लाजिल्लामा दर्ता भएका दलहरूले पनि स्थानीय तह निर्वाचन प्रयोजनका लागि तीन दिनभित्र दल
दर्ता गराउनुपर्नेछ ।

कानुन तथा राजनीतिक दल सम्बन्ध महाशाखाका सहसचिव सुशील कोइरालाले भन्नुभयो, “आयोगको आग्रहअनुसार जिल्लागत रूपमा यसअघि दर्ता भएका दलहरूले पनि स्थानीय तहको निर्वाचनका लागि तीन दिनभित्र दर्ता हुनुपर्छ र नगर्ने दलले स्थानीय तहमा भाग लिन पाउँदैनन् । ’’

आयोगको आग्रह अनुसार आयोगमा दर्ता भएका ११३ वटै स्थानीय तह निर्वाचनका लागि संविधानको धारा २७१ अनुसार आयोगमा दल दर्ता गराउनुपर्नेछ । आयोगले यसअघि जरिवाना गरेका दलहरूले पनि जरिवाना तिरेर दल दर्ता गराउन सक्नेछन् । आयोगमा अब दर्ता नहुने दलले स्थानीय निर्वाचनमा भाग लिन पाउँदैनन् ।

आयोगले शनिबार मात्रै ३० वटा राजनीतिक दललाई हरेक दललाई एक सय रुपियाँ जरिवाना गर्ने निर्णय गरेको छ । ती दल पनि जरिवाना तिरेर स्थानीय तह निर्वाचनका लागि दर्ता हुन सक्नेछन् ।

आयोगमा दल दर्ता गर्न राजनीतिक दलको केन्द्रीय कार्यकारिणी समिति वा सो सरहको समितिका सदस्य तथा अन्य पदाधिकारीको सङ्ख्या, राजनीतिक दलको सङ्गठनात्मक स्वरूप, राजनीतिक दल दर्ताका लागि अधिकारप्राप्त व्यक्तिले प्राप्त गरेको अधिकारपत्र, राजनीतिक दलको आधिकारिक छापको नमुना र वार्षिक लेखापरीक्षण प्रतिवेदन पेस गर्नुपर्नेछ ।

राजनीतिक दलले स्थानीय तह निर्वाचन प्रयोजनका लागि निवेदन पेस गर्दा संविधानको धारा २६९ को उपधारा ९४० द्वारा निर्धारित सर्तहरू पूरा गरेको वा पूरा गर्ने कबोल गरेको हुनुपर्नेछ । निर्वाचन प्रयोजनका लागि निवेदन पेस गर्न सार्वजनिक बिदाका दिनमा समेत आयोगको कार्यालय खुला रहने जानकारी प्रवक्ता शर्माले दिनुभयो ।

आयोगले यसअघि निर्वाचन व्यवस्थापनका लागि ७५ वटै जिल्लामा एक महिनाको अवधि तोकेर दल दर्ताका लागि सूचना प्रकाशन गरेकोमा सबैभन्दा बढी काठमाडौँ जिल्लामा ४५ वटा राजनीतिक दल दर्ता भएका थिए ।

आयोगले नेपालको संविधानको धारा २६९ बमोजिम दर्ता भएका राजनीतिक दलको जिल्लागत विवरण लिने क्रममा जिल्लामा दल दर्ता गर्न सूचना प्रकाशन गरेको थियो । आयोगले माघ १७ गतेसम्मको अवधि तोकेको थियो । सो समयमा सबैभन्दा कम मनाङमा छवटा दल मात्रै दर्ता थिए ।

यसैबीच आयोगको आइतबार बसेको बैठकले स्थानीय तह निर्वाचनका लागि मतपत्र छपाइ गर्न जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा रहेको कागज )ह्वाइट प्रिन्टिङ पेपर) प्रयोग गर्ने निर्णयसमेत गरेको छ । गोरखापत्रबाट