बनेपा, १५ फागुन । गुरु श्री एग्रीकल्चर मेशिनरी प्रालि बनेपाले च्याउ खेतीलाई सरल र कम खर्चिलो बनाउन नेपालमै पहिलोपटक अटोमेटिक च्याउ बलर (पराल पोको पार्ने) मेशिन निर्माण गरेको छ । यसबाहेक गुरु श्रीले च्याउ उत्पादनका लागि अत्यावश्यक वस्तु पराललाई स्टिम (बफ्याउने) र च्याउको बीउ बनाउने कच्चा वस्तुलाई स्टिम गर्ने भाँडो पनि निर्माण गरेको छ ।
१८ महीनाभन्दा लामो समयको खोज र अनुसन्धानपछि आफूले च्याउ बलर मेशिन निर्माण गर्न सफल भएको गुरु श्रीका निर्देशक एवम् सञ्चालक बालकृष्ण श्रेष्ठले बताए । ‘यो मेशिन निर्माणको अनुसन्धानमा मात्रै झण्डै २५ लाख रुपैयाँ खर्च भएको छ,’ उनले भने, ‘निर्माणका क्रममा धेरै पटक मेशिन बनाउने र भत्काउने काम गर्नुपरेकाले खर्च बढी लागेको हो ।’
इञ्जिनीयरिङसम्बन्धी कुनै पनि औपचारिक शिक्षा नलिएका श्रेष्ठ २०३८ सालमा ललितपुरको गोपी टेक्सटाइलमा काम गर्न थालेपछि काम गर्दागर्दै त्यहीँ टेक्सटाइल प्रशिक्षकसम्म बने । आधुनिक टेक्सटाइल मेशिनसँग नजिकिएका श्रेष्ठ त्यसैबाट च्याउ बलर मेशिन निर्माण गर्ने प्रेरणा पाएको बताउँछन् । बनेपामा जन्मेर १० कक्षासम्म मात्र औपचारिक शिक्षा हासिल गरेका उनले २०६५ सालमा सर्लाही पुगेर व्यावसायिक च्याउ खेती शुरू गरे ।
कन्यच्याउ खेती गर्दा परालको डल्ला बनाउन जनशक्ति अभाव हुन थालेपछि उनले डल्ला बनाउने मेशिन खोजी गरे, तर कतै पाएनन् । उनी भन्छन्, ‘भारतमा समेत खोजे तर मैले यस्तो च्याउ बलर मेशिन पाइन, चीनमा चाहिँ रहेछ तर त्यो असाध्यै महँगो ।’ ‘त्यसपछि आफैंले यो मेशिन बनाउनुपर्छ भन्ने निर्णयमा पुगें र टेक्सटाइलमा सँगै काम गरेको साथी बद्री प्रधानसँग सल्लाह गरेँ । ठमेलमा होटल चलाएर बसेका प्रधानले मेरो प्रस्ताव तुरुन्तै स्वीकार गरेर सक्दो पूँजी पनि लगाउने वचन दिए । त्यसपछि मैले २०७० सालमा यो मेशिन निर्माण अनुसन्धान शुरू गरी विसं २०७२ सालमा अटोमेटिक च्याउ बलर मेशिन निर्माण पूरा गरेँ,’ मेशिन आविष्कारबारे उनले भने ।
उनका अनुसार विसं २०७२ साल असारमा मेशिन तयार भएपछि कृषि मन्त्रालयअन्तर्गत व्यावसायिक कीट विकास निर्देशनालय हरिहर भवनबाट निर्देशक हरिहर अधिकारी, योजना प्रमुख जगन्नाथ शर्मा, कीट विशेषज्ञ मानबहादुर क्षत्री र नरेश धिताल र कृषि इञ्जिनीयरिङ महाशाखाका इञ्जिनीयर रामनाथ झा र गङ्गाराम भण्डारीले निरीक्षण र प्रयोग गरी मेशिनलाई प्रमाणित गरेका हुन् ।
‘२ हर्सपावर विद्युत्बाट सञ्चालन हुने यो मेशिनको तौल झण्डै ३ सय केजीको छ,’ उनले भने, ‘पराल राख्ने ढ्वाङ, बीउ राख्ने बट्टा र खसाल्ने ठाउँ सबैमा स्टिलको मात्र प्रयोग गरिएको छ ।’
कृषि वैज्ञानिक एवम् इञ्जिनीयरबाट प्रमाणित भएपछि श्रेष्ठले कृषि मन्त्रालयमार्फत १० ओटा मेशिनको अर्डर पाएका छन् । अभियानमा खबर छ । ‘अहिलेसम्म यो मेशिन काभ्रे, ललितपुर, काठमाडौं, भक्तपुर, सुर्खेत, पोखरा र हेटौंडालगायत गरी १३ ओटा बेचिसकेको छु,’ उनी भन्छन्, ‘सरकारले कृषकलाई यो मेशिन खरीदमा ५० प्रतिशत अनुदान दिने हो भने नेपालमा व्यावसायिक च्याउ खेती गर्ने सबै किसानले किन्नेछन् ।’
‘अनुदानविना ३ लाख २५ हजार रुपैयाँ मूल्य राखिएको मेशिनबाट १२ किलोग्रामसम्मका १५ हजार बल (पोका) मा च्याउ खेती गर्ने हो भने लागत उठ्छ,’ उनले भने । यो मेशिनले दैनिक ८ देखि १२ किलोसम्मका च्याउ फलाउने ८ सयदेखि १ हजार पोकासम्म बनाउन सक्ने उनको भनाइ छ । बनेपानगरपालिका–११, बुडोलमा स्थापित गुरु श्री एग्रिकल्चर मेशिनरीमा बनिरहेको यो मेशिनलाई अझ आधुनिक र पूर्ण स्वचालित बनाउन श्रेष्ठ र उनका पार्टनर बद्री प्रधानसँग यथेष्ट पूँजी छैन ।
‘तर पनि हामीले हिम्मत हारेका छैनौं,’ श्रेष्ठ भन्छन्, ‘यति त गरियो भने भविष्यमा यो मेशिनलाई पूर्ण स्वचालित कसो नबनाइएला ?’ सरकारको सहयोग पाए यो मेशिन भारत, पाकिस्तान, बङ्गलादेश र श्रीलङ्कामा समेत निर्यात गर्न सकिने थियो, उनले भने ।
