दाङ, १४  फागुन

IMG_2326यात्राबाट एउटा मान्छे कम भएको छ ।
सम्झनामा भने धमाधम भएको छ ।
छ न त छ, एउटा बाँच्नैपर्ने जीवन
त्यो पनि त हिजोआज खत्तम भएको छ ।

देशभरका ९२ वटा रेडियोबाट एकैसाथ बज्ने रेडियो कार्यक्रम बहकिने मनका प्रस्तोता महावीर विश्वकर्मा शनिबार दाङको घोराहीमा देखिए । घोराही स्थित नेपाल पत्रकार महासंघको सभाहलमा उनले आफ्ना तीन दर्जन बढि मुक्तक र आफ्ना जीवन भोगाईहरु सुनाए । उदाहरण समुह, दाङले आयोजना गरेको महावीर र महावीरका मुक्तकहरु कार्यक्रममा युवा पुस्ताले अहिले गर्दै आएको प्रेम, लेख्दै आएको साहित्यको मुक्तक विधा र सुन्दै आएको आफ्नो रेडियो कार्यक्रमको बारेमा बताए ।

युवाहरुको मन जित्ने गरी कार्यक्रम बनाएको उनले बताए । रेडियो मार्फत पनि युवाहरुलाई केहि नयाँ कुरा दिनु पर्छ भन्ने सोचका साथ कार्यक्रमलाई अगाडी बढाएको बताउदै उनले कार्यक्रममा प्रेमलाई जोडेर हरेक पक्षलाई समेट्न खोजेको जानकारी दिए । मन सम्बेदनशील हुने र त्यसले युवाहरुको मन सहजै छुन सक्ने गरी विषयबस्तुहरुको छनौट गरीने भएका कारण पनि कार्यक्र चर्चित बन्न पुगेको उनले बताए । कार्यक्रममा उदाहरण समुह, दाङका अभियान्ता नवीन अभिलाषीले महावीर संग साक्षात्कार गरेका थिए ।

म रातो गुलाब झैँ सर्वत्र भएछु ।
बसेछु मनमा यत्रतत्र भएछु । ।
सिउरिन्छु भनेरै लिएकीथ्यौ
सुँघेर फाल्दियौ अलपत्र भएछु ।

खचाखच भरीएको नेपाल पत्रकार महासंघ दाङको सभाहलमा महावीरले जीवन भोगाई, प्रेम, सम्बन्ध, जीवनका सपनाहरु र त्यसका लागि आईपर्ने कठिनाईहरु संकेत गर्दै मुक्तकहरु बाचन गरे । कार्यक्रमका सहभागिहरुले महावीरसंग सवालजवाफ समेत गरेका छन् । सहभागिहरुले मुक्तक लेखनको विषय, प्रेमलाई कसरी सफल र सुन्दर बनाउदै लैजाने र रेडियो कार्यक्रमका विषयमा सवालजवाफ गरेका थिए । मुक्तक लेखनमा चोर्ने प्रबृत्ति मौलाएको र त्यसमा सबैले स्पष्ट रुपमा त्यसको प्रतिकार गर्नुपर्ने उनले बताए ।

कार्यक्रममा साहित्यकार टीका बस्नेतले मुक्तक लेखनको विषयमा प्रष्ट्याएका थिए भने कार्यक्रममा माया विकले मायाको चिनो प्रदान गरेकी थिईन । कार्यक्रममा उदाहरण समुहका संगीत मगर, शर्मिला रोका मगर, सविना भुषाल लगाएतले सम्मान गरेका थिए । कार्यक्रमको सहजीकरण अभियान्ता शर्मिला रोका मगरले गरेकी थिईन ।