रुकुम- ऊर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले मुलुकमा बिद्युत क्रान्तिको शुरुवात भएको बताउनुभएको छ । विहीवार रुकुममा शुरु भएको मध्यपश्चिमाञ्चल रुकुम महोत्सवलाई सम्बोधन गर्दै मन्त्री शर्माले बिद्युत क्रान्तिको युग शुरु भएको बताउनुभएको हो ।

janardan1“नेपालको पानी जनताको लगानी कार्यक्रम मार्फत नेपालमा विद्युत क्रान्तिको शुरुवात भएको छ, यो क्रान्तिले समृद्ध नेपालको निर्माणमा महत्वपूर्ण भूमिका खेल्नेछ ।” उहाँले भन्नुभयो “औद्योगिकरण र समृद्धिको पहिलो आधार भनेको बिद्युत हो ।”

ऊर्जा मन्त्रालयबाट अहिले जेजति काम भएको छ त्यसको प्रेरणाको श्रोत आफुलाई चनाव जिताएर पठाउने रुकुमेली जनताको भागमा पर्ने भन्दै उहाँले प्रधानमन्त्रीको प्रत्यक्ष निर्देशनमा काम गरिरहेको जानकारी दिनुभयो । “रुकुम जिल्लाका जनताले भ्रष्टाचार अन्त्यको लागि मलाई मन्त्री बनाएका हुन, देशलाई उज्यालो बनाउन पठाएका हुन, मेरो पुरुषार्थ र बहादुरीले काम गरेको होइन कि जनताको अपार माया र प्रेरणाले मलाई काम गर्ने ऊर्जा दिएको हो ।”

इतिहाँसमा पहिलो पटक ऊर्जामन्त्रालय र विद्युत प्राधिकरणका कर्मचारीलाई ठाँउ ठाँउमा अभिनन्दन गरिरहेको भन्दै उहाँले त्यस्तो परिस्थतिको निर्माण गर्न सकिएकोमा सन्तोष व्यक्त गर्नुभयो ।

रुकुम जिल्लामा शुरु गरिएको रुकुम उज्यालो कार्यक्रमकै जगमा आफुले उज्यालो नेपाल अभियान शुरु गरेको प्रसंग उल्लेख गर्दै मन्त्री शर्माले उज्यालो नेपाल अभियान राष्ट्रलाई समृद्ध बनाउने अभियान भएको तर्क गर्नुभयो ।

रुकुममा मात्र ३ हजार ६ सय गिगावाट विद्युत उत्पादन क्षमता रहेको भन्दै उहाँले सानीभेरी नदीमा उत्तरगंगा, भेरी वान र जगदुल्ला जलविद्युत आयोजना सरकारी स्तरबाटै अगाडि बढाइने प्रतिवद्धता व्यक्त गर्नुभयो ।