इन्द्रेणी संवाददाता
दाङ, ११ फागुन । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले नेपालको पर्यटन विकासका लागि पर्यटकीय क्षेत्र लुम्बिनी, दाङहुँदै रारा जोडने सरकारको योजना भएको बताएका छन् । आज बुधवार दाङको धार्मिक पर्यटकीय क्षेत्र धारापानीमा भूपेन्द्रश्वर श्रेष्ठ, विष्णसकुमारी श्रेष्ठ स्मृति धर्मशाला उद्घाटन गर्दै पर्यटकीय हिसावले दाङ पनि अत्यन्त सम्भावना भएको र यसमा राज्यको लगानी पनि हुने बताए ।
फोटो :उदय बीसी
यहाँको विकासका लागि गुरुयोजना बनाउन मन्दिर व्यवस्थापन समितिलाई आग्रह गर्दै अर्थमन्त्री महराले त्यो गुरुयोजनाको एउटा काम आफ्नै कार्यकालमा शुरु गरिदिने आश्वासन दिए । ‘यहाँको विकासका लागि मास्टर प्लान बनाउनुहोस्, मेरै कार्यकालमा एउटा योजना शुरु हुन्छ’, उनले भने । सबै क्षेत्रमा राज्यको मात्रै सतप्रतिशत लगानी भएमा विकास हुन नसक्ने उल्लेख गर्दै महराले त्यसका लागि समुदायदेखि सबै सरोकारवाला निकायहरुको पनि लगानी हुन आवश्यकता औल्याए ।
कार्यक्रममा पाण्डवेश्वर महादेव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेशप्रसाद अधिकारीले धारापानी मन्दिर क्षेत्रको विकासका लागि राज्यको लगानी अत्यन्त न्यून भएको भन्दै राज्यको लगानी बढाउने आग्रह गरेका थिए । उनले मन्दिरसम्म पुग्न पूर्वक्षेत्रको आकर्षण बढाउन कुहिरेपानीदेखि धारापानीसम्मको सडक निर्माण, धारापानी, वाह्रकुने दह हुँदै स्वर्गद्धारीसम्म जोडने सडक निर्माणमा पहल गरिदिन अनुरोध गर्दै ज्ञापनपत्र समेत बुझाएका थिए ।
करीव एक करोड लगानीमा घोराहीका ध्रुवकुमार श्रेष्ठ र उनका परिवारले आफ्ना स्वर्गीय बुवा÷आमा भूपेन्द्रश्वर श्रेष्ठ र विष्णुकुमारी श्रेष्ठको सम्झनामा उक्त धर्मशाला निर्माण गरेका हुन् । धर्मशालामा आठ कोठा रहेको छ । उद्घाटनसँगै आजदेखि सो धर्मशालालाई निर्माण समितिले मन्दिर व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मेघराज काफ्ले, स्थानीय विकास अधिकारी कुलबहादुर जिसी, माओवादी केन्द्रका हेमराज शर्मा ‘वाइमण्ड’, एमालेका अध्यक्ष टीकाराम खड्का, काग्रेसका भूपबहादुर डाँगी, वरिष्ठ पत्रकार नारायणप्रसाद शर्मालगायतले आफ्ना विचार राखेका थिए ।
