आर.के. शितल
दाङ । नेपाल पत्रकार महासंघको केन्द्रीय अध्यक्ष पदका उम्मेदवार दाङमै भेटिएका छन् । नेपाल प्रेस युनियन दाङले दाङ शाखाका विपुल पोख्रेललाई नेपाल पत्रकार महासंघको आसन्न केन्द्रीय महाधिवेशनमा अध्यक्षको उम्मेदवार बनाउन केन्द्रीय समितिसमक्ष प्रस्ताव गरेको छ ।

युनियनको आइतबार घोराहीमा भएको बृहत् भेलाले पत्रकार महासंघको नयाँ नेतृत्वका लागि हुने निर्वाचनमा प्रेस युनियनको तर्फबाट विपुल पोख्रेललाई उम्मेदवार बनाउन सर्वसम्मत निर्णय गर्दै केन्द्रीय समितिमा सिफारिस गर्ने निर्णय गरेको हो । नेपाल पत्रकार महासंघको केन्द्रीय उपाध्यक्षको रुपमा एक अवधि अनुभव हासिल गरिसकेका पोख्रेललाई महासंघको आसन्न महाधिवेशनमा अध्यक्षको उम्मेदवार बनाउन युनियन केन्द्रीय समितिलाई अनुरोध गरेको हो ।
पोख्रेल महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष मात्र होइन तत्कालीन कांग्रेस सभापति सुशील कोइरालाका प्रेस सल्लाहकार समेत रहेर काम गरिसकेका छन् । “युनियन दाङका सल्लाहकार पोख्रेललाई नेपाल पत्रकार महासंघको केन्द्रीय अध्यक्ष पदको उम्मेदवार बनाउनका लागि केन्द्रीय समिति समक्ष अनुरोध गरिन्छ” युनियन दाङको आइतवार भएको भेलाले गरेको प्रस्तावमा उल्लेख छ, “अध्यक्षको उम्मेदवारका लागि निर्णय गर्नका लागि केन्द्रीय समितिलाई अनुरोध गरिन्छ ।”
यस्तै भेलाले महासंघको दाङ जिल्ला नेतृत्व सहमतिमा तय गर्नका लागि उदार हुंने निर्णय पनि गरेको छ । युनियनले सहमतिमा नेपाल पत्रकार महासंघ दाङको नेतृत्वका लागि सहमति कायम गर्न अरु पत्रकार संगठनहरुलाई आह्वान समेत गरेको छ । सहमति हुन नसकेमा प्रतिष्पर्धामा जानसक्ने संभावनालाई पनि भेलाले खुला राखेको छ ।
