संजय कुशवाहा
नवलपरासी, ५ फागुन । नवलपरासीको कुडिया गाउँ विकास समिति वडा नं.६ महलबारीमा मदार बाबा मेला आजदेखि शुरू भएको छ ।
मुस्लिम समुदायको आस्थाको केन्द्र बिन्दु बनेको मदार बाबा मेला मुस्लिम समुदायको नेपालकै पहिलो र पुरानो ऐतिहासिक मदार बाबा मेला धार्मिक स्थल बनेको छ ।
मदार मेला ब्यवस्थापन समितिका अध्यक्ष जमालुदिन अन्सारीले दिएको जानकारी अनुसार यो मेला बदिउदिन जिन्दा शाह बाबाको ६०० औं मेला हो । मेलामा भक्तजनहरूलाई सरल,सुलभ र भब्य बनाउनको लागि मेलामा करिब २०० सुरक्षा कर्मी परिचालन गरिएको साथै १०० जना स्वयंसेवक ,३ ठाउमा स्वास्थ्य शिविर ,२० वटा सार्वजनिक शौचालय ,नया बाटो निर्माण लगाएत आउने भक्तजनहरूलाई विभिन्न ब्यवस्था गरिएको छ ।
बाबाको मुख्य मजारमा पुगनको लागि महलबारी देखि ९ किलोमिटर टाढा पहाडमा अवस्थित रहेको हुदा पैदल यात्रा गरि बाबाको मुख्य स्थल सम्म पुगने गरिन्छ ।मदार मेलामा मुस्लिम र हिन्दु धर्मावलम्बीहरूको संगम रहने गर्दछ ।
हिन्दु र मुस्लिम मजार सम्म पुगेपछि घरपरिवारमा शान्ति आउनुको साथै हरेक मनोकामना पूरा हुन्छ भन्ने विश्वास गरिएको छ । यो मेला फागुन १४ गते सम्म संचालन रहने छ । सो मदार मेलामा भारत ,विहार र नेपालका विभिन्न ठाउहरूबाट करिब १५ लाख भन्दा बढी भक्तजनहरू आउने अन्सारीले दाबी गरे ।
