दाङ, १ फागुन । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङले संगीतकार सन्तोष श्रेष्ठलाई पुरस्कृत गर्ने भएको छ । परिषद्को जिल्ला शाखामा मनोज बुढाथोकीले स्थापना गर्नुभएको यज्ञबहादुर बुढाथोकी स्मृति साहित्य, कला संगीत पुरस्कारबाट श्रेष्ठलाई पुरस्कृत गर्न लागिएको हो ।
पुरस्कार छनौट समितिको शनिबार बसेको बैठकले उक्त पुरस्कार श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको परिषद् जिल्ला शाखा सचिव तथा छनौट समितिका सदस्य दीपक शर्मा ‘समीर’ले जानकारी दिए । शाखा अध्यक्ष कमलमणि देवकोटाको संयोजकत्वमा केशव थापा, छविलाल कोपिला, दीपक शर्मा ‘समीर’ र शारदा शर्मा सदस्य रहेको पुरस्कार छनौट समिति गठन गरिएको थियो ।
उक्त पुरस्कार परिषद्को यही फागुन १६ गते हुने वार्षिक साधारण सभा तथा जिल्ला अधिवेशनमा प्रदान गरिने सचिव शर्माले बताए । त्यस्तै सो अवसरमा अग्रज साहित्यकार राप्ती साहित्य परिषद्का संस्थापक अध्यक्ष नारायणप्रसाद शर्मा र परिषद्का केन्द्रीय अध्यक्ष तथा निमादेवी खनाल बालप्रतिभा पुरस्कारका संस्थापक पुरुषोत्तम खनाललाई सम्मान गर्न लागिएको शर्माले बताए ।
घोराहीस्थित राप्ती साहित्य परिषद्को सभाकक्षमा हुने साधारण सभा तथा अधिवेशनमा संस्थाका आजीवन सदस्य, पुरस्कार संस्थापक, साहित्यिक संघ संस्थाका प्रतिनिधि, साहित्यकार, पत्रकार तथा सम्पूर्ण साहित्यप्रेमी महानुभावहरुलाई उपस्थितिका लागि सचिव दीपक शर्मा समीरले अनुरोध गरेका छन् ।
